Kathmandu Press

एकीकरणले  विश्वमानचित्रमा नेपालीको अस्तित्व सम्भव : लिङ्देन

एकीकरणले  विश्वमानचित्रमा नेपालीको अस्तित्व सम्भव : लिङ्देन

काठमाडौं, पुस २७ : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१औँ  जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कविता गोष्ठीको आयोजना गरेको छ । पार्टीले उनले निर्वाह गरेको भूमिका तथा योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले भृकुटीमण्डप परिसरमा कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रममा विभिन्न कविले राष्ट्रनिर्माणका क्रममा राष्ट्रनिर्माताले झेल्नुपरेका दुःख कष्ट, त्याग तथा साहस र योगदानको पक्षलाई विभिन्न आयामबाट अभिव्यक्त गरेका छन् । सोही अवसरमा रक्तदान कार्यक्रमसमेत गरिएको छ । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन जलपान समारोहको आयोजना गरिएको छ ।

 समारोहमा प्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका प्रमुख तथा नेता, नेपाल सरकारका उच्चपदस्थ व्यक्तित्व एवं नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रका व्यक्तित्वलगायतलाई आमन्त्रण गरिएको छ । नेपाली नोटमा पृथ्वीनारायणको तस्बिर अङ्कित गर्न माग गर्दै आएको पार्टीले देशैभर रहेका सबै जिल्ला कमिटीलाई पृथ्वीजयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाउन परिपत्र गरेको छ ।

यसअघि पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा एक टोलीले सिंहदरबार अगाडि शाहको शालिकमा पुगेर माल्यार्पण तथा पुष्पगुच्छा चढाएको थियो । अध्यक्ष लिङ्देनले राष्ट्रनिर्माताले बाइसे चौबिसे राज्यमा छरिएका भू–भागलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेर हामी सबैलाई नेपालीका रुपमा परिचित गराएकाले उनलाई सबैले सम्मान गर्नुपर्ने बताए। 

सरकारले पृथ्वीजयन्तीमा दिएको सार्वजनिक बिदाले बहुसङ्ख्यक नेपाली जनताको भावना र चाहनाको सम्मान भएको बताउँदै उनले तत्कालीन समयमा भएको एकीकरणले विश्वमानचित्रमा नेपाल र नेपालीको अस्तित्व सम्भव भएको विचार व्यक्त गरे ।

प्रकाशित मिति: १४:२६ बजे, बुधबार, पुस २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्