५८ सांसदको समर्थनसहित लुम्बिनीको मुख्यमन्त्रीमा लीला गिरीले गरे दावी पेश
सरकारलाई माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा, लोसपा र जनमतका ३/३ जना सांसदले समर्थन गरेका छन्।
काठमाडौं, पुस २७ : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि एमाले संसदीय दलका नेता लीला गिरीले दाबी पेस गरेका छन् । बुधबार दिउँसो लुम्बिनी प्रदेशसभाका ५८ सांसदको हस्ताक्षरसहित गिरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको बहुमतीय सरकार गठनका लागि पुस २७ गते ४ बजेसम्मको समय सीमा तोकेर पुस २१ गते दलहरूलाई आह्वान गरेका थिए।
प्रदेश प्रमुख शेरचनले दिएको अवधि भित्रै दलहरूले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन्।
लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै सांसदसहित पहिलो दल बनेको एमालेका २९ जना सांसद छन्। सरकारलाई माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा, लोसपा र जनमतका ३/३ जना सांसदले समर्थन गरेका छन्। स्वतन्त्र २ सांसदले पनि सरकारलाई समर्थन गरेका छन्।
२७ जना सांसद सहित प्रदेशमा दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेस र एक(एक जना सांसद रहेका नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा भने सरकार बाहिर बसेका छन्।
दाबी पेश गरेपछि प्रदेश प्रमुख शेरचनले आजै गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन्।











