सप्तरीमा चिसाेले कठ्यांग्रिएर थप एक जनाकाे मृत्यु

सप्तरी, पुस २६ : सप्तरीमा चिसोले कठ्यांग्रिएर साेमबार एक जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ बेल्हाका ६५ वर्षीय कपलेश्वर सदा रहेका छन् ।
याे घटनासँगै यस वर्ष चिसोले कठ्यांग्रिएर मृत्यु हुनेको संख्या दुई पुगेको छ।
विगत केही दिन यता तराईमा बढेको अत्यधिक चिसोको कारण अस्वस्थ रहेको सदाको सोमबार साँझ ७ बजे कठ्यांग्रिएर मृत्यु भएको स्थानीय बताउँछन।
चिसोका कारण बिरामी परेका सदा महुली उपचार गरि घर फर्केर घरैमा सुतेको अवस्थामा ज्यान गएको थियाे।
मृतक परिवारलाई खान लगाउनसमेत समस्या रहेकाे थियाे।
विगत केही समय यता सप्तरीसहित तराईका जिल्लाहरुमा बढेको अत्यधिक चिसोका कारणले यहाँको जनजीवन निकै कष्टकर भइराखेकाे छ।
चिसो बढेपछि जिल्लाका अधिकाश पालिकाहरुले केही दिनको लागि सामुदायिक तथा संस्थागत विद्यालयसमेत बन्द गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले चोक तथा सार्वजनिक स्थानमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएको छ ।
यसअघि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षीया देवु सदाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको थियोे ।











