भ्रमण वर्षको मुखमा ह्वात्तै घटे नेपाल आउने हवाइयात्रु
काठमाडौं, पुस १६ : नेपाल भ्रमण वर्ष २०२० आज उद्घाटनको तयारी भइरहँदा गत वर्षले भने पर्यटन क्षेत्रका लागि सुखद खबर छोडेको छैन। सन् २०१९ मा हवाइयात्रुको ....

काठमाडौं, पुस १६ : नेपाल भ्रमण वर्ष २०२० आज उद्घाटनको तयारी भइरहँदा गत वर्षले भने पर्यटन क्षेत्रका लागि सुखद खबर छोडेको छैन। सन् २०१९ मा हवाइयात्रुको संख्या ह्वात्तै घटेको पाइएको छ।
नेपाल भ्रमण वर्षमा विश्वभरीबाट २० लाख पर्यटन भित्राउने भन्दै सरकारले करोडौ प्रचारप्रसारमा खर्च गरेको छ। तर, क्रिसमस र अग्रेजी नयाँ वर्षमा नेपाल विदेशी पर्यटकको भ्रमणको सूचीमा नपरेको तथ्यांकले देखाएको छ।
पछिल्लो एक साता हवाई मार्गवाट नेपाल आउने विदेशीको संख्या घटेको विभिन्न वायुसेवा कम्पनीहरूको तथ्यांकले देखिएको छ। उनीहरुका अनुसार, सबैभन्दा बढि पर्यटक आउने भारतबाट पनि गत महिनामा नेपाल आउने पर्यटकको संख्या घटेको छ।
गत महिनामात्रै होइन, गत वर्ष नै हवाइमार्गबाट नेपाल आउने यात्रुको संख्या घटेको छ। नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल अघिल्लो वर्षको तुलनामा गतवर्ष अन्तराष्ट्रिय हवाई यात्रुको संख्या करिब दुई लाख घटेको बताए।
उनका अनुसार, सन् २०१९ को नोभेम्बरसम्म ३७ लाख ६८ हजार हवाई यात्रु काठमाडौ भित्रिएका छन्। डिसेम्बर महिनामाको तथ्यांक जोडेर सन् २०१९ मा ४१ लाख हवाई यात्रु पुग्ने अनुमान गरिएको छ।
जबकी सन् २०१८ मा हवाइयात्रुको संख्या ४३ लाख ४२ हजार चार सय ८६ पुगेको थियो। यो सन् २०१७ को भन्दा सात प्रतिशत बढी थियो। सन् २०१७ मा अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने यात्रुको संख्या ३८ लाख ८७ हजार आठ सय ४५ रहेको थियो।
यो संगै गत वर्ष पर्यटकको संख्या पनि घटेको अनुमान गरिएको छ। हवाईयात्रुको संख्या घटेसँगै पर्यटकको संख्या पनि घटेको हुनसक्ने पर्यटन व्यवसायीको भनाइ छ।
पर्यटन विभागका अनुसार, सन् २०१९ को नोभेम्बरसम्म १० लाख ९७ हजार पाँच सय ७१ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। डिसेम्बरमा आउने पर्यटकको संख्या जोडेर १२ लाख पुग्ने विभागको अनुमान छ। डिसेम्बरको तथ्यांक सार्वजनिक गरिएको छैन।
सन् २०१८ मा भने ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल आएका थिए। त्यस्तै, सन् २०१७ मा नौ लाख ४० हजार दुई सय १८ थियो भने सन् २०१६ मा सात लाख ५३ हजार दुई रहेको थियो।
सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। सरकारले सन् २०१९ मा १२ लाख पर्यटक नेपाल आउने अनुमान गरेको थियो। त्यहि आधारमा पनि थप आठ लाख पर्यटकलाई नेपाल भित्र्याउनु पर्नेछ।
यसअघि सरकारले सन् १९९८ मा भ्रमण वर्ष र सन् २०११ मा नेपाल पर्यटन वर्ष आयोजना गरेको थियो।
सन् १९९८ मा पाँच लाख पर्यटक भित्राउने लक्ष्य लिँदा चार लाख ६३ हजार ६ सय ८४ र सन् २०११ मा १० लाख पु¥याउने लक्ष्य राखेकामा सात लाख ३६ हजार दुई सय १५ पर्यटकले नेपाल भ्रमण गरेका थिए।












-(7)-1765197040.jpg)