चित्रबहादुरको आशंका– एउटालाई पछारेर अर्कोलाई ल्याउने खेल त होइन ?
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सबै दलहरुले समर्थन गरेकोमा शंका व्यक्त गरेका छन् ।
काठमाडौं, पुस २६ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सबै दलहरुले समर्थन गरेकोमा शंका व्यक्त गरेका छन् ।
मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको प्रस्तावमाथिको छलफलमा बोल्दै संसदमा देखिएको दृश्य डरलाग्दो रहेको बताएका हुन् । संसदमा सत्तापक्ष र प्रतिपक्ष हुनुपर्नेमा सबैजना सरकारमा सहभागी भएर विगतमा भएका कमिकमजोरीलाई ढाक्ने खेल हुने बताए ।
सत्ता गठबन्धनसहित कांग्रेस, एकीकृत समाजवादी र लोसपाले पनि प्रधानमन्त्रीलाई समर्थन गर्नुले सत्ताको घिनलाग्दो खेल सुरु हुने सम्भावना रहेको केसीले बताए । ‘आफ्नो कमिकमजोरीलाई ढाक्ने र त्यही भित्र लडमन्त गरेर एउटालाई पछार्ने अर्को आउने खेल त होइन ? यसो गरेर देश बन्छ ? सरकार चल्छ ?’ उनले भने
उनले बोरामा पैसा लगेर खर्च गरी चुनाव जितेर आएकाहरुले देश र जनताको हितमा काम गर्न नसक्ने बताए । ‘सरकारमा नगईकन, सत्तामा नबसिकन देशको प्राकृतिक स्रोतसाधनको दोहन नगरी चुनावमा उडाएको खर्च उठ्छ ? त्यही डरले र विगतमा भएको आफ्ना कमिकमजोरीलाई त्यसबाट बँच्न सबै एकठाउँमा जम्मा भएका हुन् कि भन्ने डर लागेको छ,’ उनले भने ।
उनले सबैले समर्थन गरेपनि आफूले भने समर्थन नगर्ने बताए। उनले देशको राष्ट्रियता, सार्वभौमता र अखण्डको पक्षमा निरन्तर एक्लै भएपनि लड्ने बताए।











