संसद विघटनबारे ओलीलाई माधवको प्रश्न– यो ब्रिटेन र भारतको संविधान हो ?
यो गिरिजा प्रसाद कोइराला नेतृत्वको २०५१ सालको सरकार हो ? २०५८ सालको शेरबहादुर देउवाको सरकार हो ?’ : माधव नेपाल
काठमाडौं, पुस २४ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा विघटनबार एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको प्रतिवाद गरेका छन् ।
मंगलबार प्रधानमन्त्रीले प्रतिनिधि सभामा प्रधानमन्त्रीले राखेको विश्वासको प्रस्तावमाथिको छलफलमा बोल्दै अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटनबारे ओलीले दिएको अभिव्यक्तिको खण्डन गरेका हुन्।
उनले ओलीको अभिव्यक्ति र मान्यता लोकतन्त्रका लागि खतरनाका रहेको बताएका छन् । ‘संसद विघटन गर्न पाइन्छ भन्ने मान्यता गठबन्धनको हो ? हो भने खतरनाक संकेत यसले देखाउँछ,’ उनले भने।
उनले ०७२ सालको संविधानले व्यक्तिगत लहडमा प्रतिनिधि सभा विघटन गर्न नपाइने व्यवस्था गरेकाे बताए। सम्बोधनकै क्रममा ओलीले ब्रिटेन, भारत र जापानमा पनि संसद विघटन हुने गरेको बताएका थिए । उनले गिरिजाप्रसाद कोइराला र शेर बहादुर देउवाले नै संसद विघटन गरेको इतिहास सुनाएका थिए।
सो अभिव्यक्तिको खण्डन गर्दै माधव नेपालले भने, 'के यो ब्रिटेन हो ? भारत हो ? पुरानो नेपाल हो ? यो गिरिजा प्रसाद कोइराला नेतृत्वको २०५१ सालको सरकार हो ? २०५८ सालको शेरबहादुर देउवाको सरकार हो ? होइन ।’
उनले विगतको अनुभवको आधारमा, संवैधानिक अभ्यास र प्रणालीमा सुधारको प्रयास गरेको र सोही बमोजिम विगतका त्रुटीहरु नहोर्याउन प्रतिबद्धता व्यक्त गरेको बताए । उनले विगतमा चालिएको प्रतिगमनको फेरि नचाल्न चेतावनी दिएका छन् । ‘प्रधानमन्त्रीले जथाभावी प्रतिनिधि सभा विघटन गर्न पाउँदैनन् । ख्याल रहोस् । त्यो काम गरेर प्रतिगमनको कदम चालिएको थियो त्यस्तो कदम फरि नचालियोस्।’
उनले एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुँदै गर्दा गठबन्धनले विगतका कमिकमजोरीको आत्माआलोचना गरेको होला भन्ठानेको बताए । ‘आत्माआलोचना गरिसकेको होला भनेको त यहाँ गर्जेको देखेर अचम्म पो लाग्यो,’ उनले भने ।
प्रतिगमन शब्द सुन्दा ओलीको मन पोल्छ भने सुधार गर्न तयार भएको बताउँदै माधव नेपालले भने,‘शब्द सच्याउँला तर महशुस त हुनुपर्यो नि।’











