मधेस प्रदेशको मुख्यमन्त्रीका लागि आजै दाबी पेश गर्ने तयारी

काठमाडौं, पुस २६ : सत्ता गठबन्धनले मधेस प्रदेश सरकार गठनका लागि आजै दाबी पेस गर्ने तयारी गरेको छ ।
जनता समाजवादी पार्टी ९जसपा० मधेस प्रदेशप्रमुख रामबाबु यादवले सत्ता गठबन्धनले आज अपराह्न ४ बजेसम्म जसपा संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा समर्थन गर्दै सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेको जानकारी दिए।
उनले आजै दाबी पेस गर्ने गरी सत्ता गठबन्धनका दलहरुले आन्तरिक तयारी गरेको र सोहीअनुसार प्रदेश प्रमुखसमक्ष समय मागसमेत भइसकेको बताए । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले यही पुस २८ गते अपराह्न ४ बजेसम्म सरकार गठनका लागि आह्वान गरे पनि सत्ता गठबन्धनले दुई दिनअघि नै दाबी पेस गर्ने तयारी गरेको हो।
केन्द्रीय सत्ता समीकरणमा रहेका दलहरुबीच मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएअनुसार पहिलो आधा कार्यकालका लागि जसपा नेतृत्वमा सरकार बन्न लागेको हो ।
मधेस प्रदेशसभामा १६ सदस्यसहित तेस्रो पार्टीका रुपमा रहेको जसपालाई नेकपा एमाले ९२३०, जनमत पार्टी ९१३०, माओवादी केन्द्र (आठ), राप्रपा र नागरिक उन्मुक्ति पार्टी (एक/एक) सहितका ६० प्रदेशसभा सदस्यको समर्थन रहने र यो सङ्ख्या बढ्न पनि सक्ने जनाइएको छ।











