पृथ्वीनारायणलाई सम्मान गर्दा कसैले पनि हिनतावोध गर्नुपर्दैन : लिङेदेन
पृथ्वीनारायण शाह थिए र नेपाल भन्ने राष्ट्र छ । नेपाल राष्ट्र छ र पुष्पकमल दाहाल प्रचण्ड नेपालको प्रधानमन्त्री हुनुहुन्छ’ : लिङ्देन
काठमाडौं, पुस २६ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहलाई सम्मान गरेर जाँदा कसैले पनि हिनतावोध गर्न नपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको प्रस्तावमाथिको छलफलमा बोल्दै अध्यक्ष लिङ्देनले पृथ्वीनारायण शाहले नेपालको नाम र पहिचान दिने काम गरेकाले उनलाई सम्मान गर्नु पर्ने धारणा राखेका हुन् ।
‘राष्ट्र निर्मातालाई सम्मान गरेर जाँदाखेरि कसैले पनि हिनताबोध गर्नुपर्दैन, पृथ्वीनारायण शाह थिए र नेपाल भन्ने राष्ट्र छ । नेपाल राष्ट्र छ र पुष्पकमल दाहाल प्रचण्ड नेपालको प्रधानमन्त्री हुनुहुन्छ’ उनले भने ।
उनले इतिहासको गौरवशाली दिनहरुको सम्मान गरेर अगाडि बढ्दा पछाडि फर्केको नहुने बताए । ‘हामीले हाम्रो इतिहासको गौरवशाली दिनहरुको सम्मान गरेर अगाडि बढ्दा पछाडि फर्केको हुँदैन’ उनले भने, ‘पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवश कुनै पार्टीको मात्र हुँदैन, कुनै विचारका मात्र दिवस होइन, हामी सबैको हो ।’
लिङ्देनले पृथ्वी जयन्तीको अवसरमा राप्रपाले राखेको चियापान समारोहमा उपस्थित हुन पनि सबै सांसदहरुलाई निम्ता दिएका छन् ।











