कांग्रेसलाई ओलीले भने– समर्थन जाल हो भने माछा नभएको खोलामा फ्याँकेजस्तै हुनेछ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कांग्रेसको निर्णयमा आशंका व्यक्त गरेका छन् ।
काठमाडौं, पुस २६ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कांग्रेसको निर्णयमा आशंका व्यक्त गरेका छन् ।
सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्रीले राखेको विश्वासको प्रस्तावमाथिको छलफलमा बोल्दै अध्यक्ष अोलीले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने कांग्रेसको निर्णयलाई आलोचनात्मक रुपमा स्वागत गरेका हुन् ।
उनले कांग्रेसको समर्थनभित्र सदासयताबाहेक अरु कुरा नभए स्वागतयोग्य रहेको बताए । ‘यो समर्थन कुनै ढोक्सा होइन भने, जाल होइन भने स्वागत गर्न चाहन्छु,’ ओलीले भने,‘ जाल हो भने माछा नभएको खोलामा फ्याँकेजस्तै हुनेछ । केही यसभित्र भोलिका निम्तिअरु कुराहरु सोचिएको छ भने ढोक्सा रित्तै हुनेछ । किनभने त्यस पानीबाट त्यस खोल्सी बाट ढोक्सा थापेतिर कुनै माछा जानेछैन ।
तर, कांग्रेस रचनात्मक रुपमा उपस्थित भएकोमा उनले धन्यवाद ज्ञापन गरे। ‘डेमोक्रेसीको एउटा नयाँ भाष्य स्थापित गर्नुभएको छ, यसबारेमा देशमा पनि छलफल होला, विदेशमा पनि छलफल होला, इतिहासमा पनि छलफल होला’ ओलीले भने।











