गृहले काठमाडौं महानगरलाई भन्यो– तत्काल सुकुम्बासी बस्ती हटाउन सहयोग गर्न सकिन्नँ
थापाथलीस्थित बाग्मती नदी किनारका अनाधिकृत संरचना र बस्ती हटाउन सघाउन महानगरले लेखेको पत्रको जवाफ दिँदै गृहले प्रक्रिया मिचेर बस्ती हटाउन सहयोग गर्न नसकिने जनाएको छ।
काठमाडाैं, पुस २५ : गृह मन्त्रालयले बागमती करिडोरका सुकुम्बारी हटाउन काठमाडौं महानगरपालिकालाई सहयोग गर्ने भएको छ।
थापाथलीस्थित बाग्मती नदी किनारका अनाधिकृत संरचना र बस्ती हटाउन सघाउन महानगरले लेखेको पत्रको जवाफ दिँदै गृहले प्रक्रिया मिचेर बस्ती हटाउन सहयोग गर्न नसकिने जनाएको छ।
१३ पुसमा महानगरपालिकाले सहयोग माग्दै लेखेको पत्रको जवाफ दिंदै गृह मन्त्रालयले छलफल, समन्वय, पूर्वतयारी नभएसम्म सहयोग नहुने बताएको हो।
१९ पुसमा गृहले लेखेको जवाफी पत्रमा सिधा शब्दमा अस्वीकार नगरिए पनि महानगरपालिकाले कानुन बमोजिमको प्रक्रिया पुरा गरेको अवस्थामा सहयोग हुने गृहको पत्रमा उल्लेख छ।
‘सार्वजनिक सम्पत्ति र नदी किनारका मापदण्डअनुसारको क्षेत्रको संरक्षण गर्ने कार्यमा मन्त्रालयको सदैव सकारात्मक सहयोग रहने छ,’ पत्रमा भनिएको छ, ‘उल्लेखित विषयमा कानुन बमोजिमको प्रक्रिया पुरा गरी, सरोकारवाला सबै पक्षसँग आवश्यक छलफल तथा समन्वय गरी पर्याप्त पूर्वतयारीसहित समग्र समस्या सामधान गर्ने महानगरको अग्रसरतालाई मन्त्रालयको पूर्ण सहयोग रहनेछ ।’
गृहले सरोकारवाला र सम्बन्धित पक्षसँग छलफल गरेर अघि बढेको खण्डमा महानगरलाई सधैं सहयोग हुने बताएकाे छ।
गृहको पत्रअनुसार तत्कालकै अवस्थामा महानगरपालिकाले आफ्नै सुरक्षा बल प्रयोग गरेर मात्रै बस्ती हटाउन सक्ने अवस्था सिर्जना भएको हो ।
अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म बस्ती छोड्न जारी गरेको सूचनालाई देखाएर महानगरपालिकाले तयारी विना नै सुकुम्बासी हटाउन खोजेको थियो । सो क्रममा झडप हुँदा ३६ नगर प्रहरी घाइते भएका थिए ।











