विश्वासको मत माग्दै प्रचण्डले भने– आत्मालोचना र संकल्पसहित आएको छु
राष्ट्रियता, राष्ट्रिय सुरक्षा, परराष्ट्र सम्बन्ध, प्रमुख आर्थिक विषय तथा रणनीतिक पूर्वाधार लगायतका राष्ट्रको आधारभूत विषयमा राष्ट्रिय सहमतिको विकल्प देख्दिनँ : प्रचण्ड
काठमाडौं, पुस २६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत मागेका छन् ।
मंगलबार दिउँसो १ बजे बसेको बैठकको सुरुवातमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेका हुन् । विश्वासको मत माग्दै उनले प्रधानमन्त्रीका रुपमा निषेध, अपमान र प्रतिशोध नभई सहमति सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले मुलुक संकटमा पर्दा वाम लोकतान्त्रिक शक्तिहरु एकै ठाउँमा उभिएको स्मरण गर्दै अहिले पनि मुलुक कुनै न कुनै रुपमा संकटमा रहेका कारण सबैले सरकारलाई समर्थन गर्न आग्रह गरेका हुन् । ‘१०४ वर्ष लामो राणा र ३० वर्षे लामो पञ्चायती निरंकुशता वाम लोकतान्त्रिक सहकार्यबाट नै समाप्त भएको छ,’ उनले भने, ‘ हामी मिल्दा देश अगाडितिर गएको छ र नमिल्दा देश संकटतिर गएको छ ।’
प्रधानमन्त्री प्रचण्डले कुनै न कुनै रुपमा अहिले पनि देश संकटमा रहेका कारण सबै राजनीतिक दलबीच सहकार्य हुन अपरिहार्य रहेको बताए । ‘राष्ट्रियता, राष्ट्रिय सुरक्षा, परराष्ट्र सम्बन्ध, प्रमुख आर्थिक विषय तथा रणनीतिक पूर्वाधार लगायतका राष्ट्रको आधारभूत विषयमा राष्ट्रिय सहमतिको विकल्प देख्दिनँ,’ उनले भने ।
उनले शान्ति प्रक्रियाका केही बाँकी रहेको र छन् ति कामलाई अगाडि बढाउन पनि सहमति आवश्यक रहेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले आफू यसपटक फरक संकल्पका साथ उभिएको बताएका छन् ।‘यसपटक ठूलो आत्मस्वीकारोक्ति र आत्मआलोचनासहित रोष्ट्रममा उभिएको छु,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले पहिलो कार्यकाल सिक्दा सिक्दै, भित्र र बाहिरी घेरामा जुध्दाजुध्दै बाहिरिनुपर्ने अवस्था आएको बताए । वैदेशिक सम्बन्धमा ठूलो उतारचढाव आएको बेला दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्दा संविधान कार्यान्वयनको विश्वासपूर्ण सुरुवात गर्ने अवसर पाएको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले अबको पाँच वर्षभित्र सरकारले गर्ने केही कामहरु पनि सार्वजनिक गरेका छन् । उनले आर्थिक वृद्धिदर दुई अंकमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी अबदेखि आपूर्ति चक्रअनुसार चाहिएको बेला पाइने गरी मल खरिद गरिने र संगसंगै मल कारखाना स्थापनाको तयारी पनि अगाडि बढाइने बताए ।











