अहिलेको सरकार कसैले ढाल्न सक्दैन : ओली
‘भोलि नै प्रधानमन्त्रीज्यूले विश्वासको मत प्राप्त गर्नु हुनेछ । विश्वासको मत लिने बित्तिकै मन्त्रिपरिषद् विस्तारलगायतको काम तीव्रताका साथ अगाडि गर्दछौं ।’
काठमाडौं, पुस २५ : एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गर्नासाथ सरकारले पूर्णता पाउने बताएका छन्।
सत्ता साझेदार दलले बनाएको सरकारको ‘नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम’ प्रधानमन्त्री दाहाललाई सिंहदरबारमा बुझाउँदै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गरेपछि सरकारले पूर्णता पाउने बताए।
‘भोलि नै प्रधानमन्त्रीज्यूले विश्वासको मत प्राप्त गर्नु हुनेछ’, उनले भने, “विश्वासको मत लिने बित्तिकै मन्त्रिपरिषद् विस्तारलगायतको काम तीव्रताका साथ अगाडि गर्दछौं ।’
विश्वासको मत प्रधानमन्त्रीले लिइसकेपछि सरकारका कार्यक्रमले गति लिने उनको भनाइ थियो । ओलीले जनताका आशा भरोसालाई राखेर अहिलेको सरकार बनेको बताए।
अहिलेको सरकार कसैले ढाल्न नसक्ने उनको भनाइ थियो । उनले भने, ‘यो सरकार स्थायित्वका लागि हो । सरकार बनाउने र गिराउने खेलका लागि होइन । सरकार प्रभावकारीरूपमा चल्छ।’
एमाले सरकार घटकको ठूलो दलको हैसियतले आफ्नो पार्टीको सरकारलाई साथ सहयोग रहनेसमेत अध्यक्ष ओलीले बताए। उनले कतिपय मतभेद भए पनि राजनीतिक दलबीच आधारभूत रूपमा सँगै जान सक्ने वातावरण रहेकाले त्यसलाई अगाडि बढाउनुपर्ने बताए।











