छिनछिनमा सरकार परिवर्तन होस् भन्ने हामी चाहन्नाैं : माधव नेपाल
नयाँ प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले मुलुकमा स्थायित्वको आवश्यकता रहेको बताए। ‘सबैले यो देशमा राजनीतिक स्थायित्वको आशा गरेका छन्। हामी चाहँदैनौं यो देशमा छिनछिनमा सरकार परिवर्तन होस्,’ उनले भने।
काठमाडौं, पुस २५ : नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले छिनछिनमा सरकार परिवर्तन होस् भन्ने आफ्नो पार्टीकाे चाहना नरहेको बताएका छन्।
नयाँ प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले मुलुकमा स्थायित्वको आवश्यकता रहेको बताए। ‘सबैले यो देशमा राजनीतिक स्थायित्वको आशा गरेका छन्। हामी चाहँदैनौं यो देशमा छिनछिनमा सरकार परिवर्तन होस्,’ उनले भने।
अध्यक्ष नेपालले परिवर्तनको महसुस हुनेगरी काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुभकामना दिए। ‘उहाँले नयाँ काम गर्ने, आमूल परिवर्तन गर्ने भनेर भन्नुभएको छ। परिवर्तनको महसुस हुनेगरी काम अगाडि बढोस्। बोली र व्यवहारमा सामञ्जस्य आओस्। उहाँको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु,’ उनले भने।
अध्यक्ष नेपालले विगतका घटनाबाट शिक्षा सिकेर अगाडि बढ्नुपर्नेमा जाेड दिए। ‘संविधानलाई मिचेर होइन पालना गरेर प्रधानमन्त्रीले काम गर्नुपर्छ,’ उनले भने। समाजवादको मूल्य र मान्यतालाई आत्मसात गर्दै मुलुक समृद्धिको बाटोमा अगाडि बढ्नुपर्ने आवश्यकता उनले औंल्याए।
भ्रष्टाचार नै मुलुकको सबैभन्दा ठुलो समस्या भएको हुनाले अबकाे सरकार त्यस्ता बेथिति हटाउन अग्रसर हुनुपर्ने अध्यक्षा नेपालकाे भनाइ थियाे। भोलि (मंगलबार) प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेकाे उल्लेख गरेका नेपालले विश्वासकाे मत दिनेनदिने विषयमा आफ्नो पार्टीले के गर्छ भनेर उनले कुनै धारणा राखेनन्।











