Kathmandu Press

सरकार भ्रष्टाचारविरूद्ध निर्मम ढंगले प्रस्तुत हुन्छ : रवि लामिछाने

नयाँ प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका उनले प्रतिपक्षीले राम्रोसँग खबरदारी गरे सरकारले जनताको भावनालाई सम्बोधन गर्नेगरी काम गर्न सक्ने बताए।
सरकार भ्रष्टाचारविरूद्ध निर्मम ढंगले प्रस्तुत हुन्छ : रवि लामिछाने

काठमाडाैं, पुस २५ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा विपक्षीले अड्काउने होइन सघाउने काम गर्नेमा विश्वास व्यक्त गरेका छन्। 

नयाँ प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका उनले प्रतिपक्षीले राम्रोसँग खबरदारी गरे सरकारले जनताको भावनालाई सम्बोधन गर्नेगरी काम गर्न सक्ने बताए।

रोस्ट्रममा पहिलो उपस्थिति भएको बताउँदै उनले रोस्ट्रम नेपालको विकास र नेपालको इतिहासको साक्षी बनेर उभिएको बताए। आफ्नो पार्टीलाई रोस्ट्रमसम्म उभिन सक्ने बनाइदिएकोमा उनले  देशैभरिका मतदातालाई धन्यवाद दिए। पार्टीले सबैभन्दा मतान्तरले विजय गराउने चितवन २ का मतदातामा पनि उनले विशेष धन्यवाद दिए।

आफ्नो पार्टी नयाँ पार्टीका रूपमा उदय हुनु ठुलो कुरा नभएको उल्लेख गर्दै उनले जनताको विश्वास प्राप्त हुनु महत्वपूर्ण कुरा भएको बताए। मुलुकमा परिवर्तन आवश्यक छ भनेर जनताले बजाएको घन्टी बजाएको र त्यो आवाज संसदले सुन्नुपर्नेमा उनले जोड दिए। 

आफ्नो पार्टीलाई अरु पार्टीप्रतिको निराशाको मत आएको लाञ्छना र शंका सही नभएको बताउँदै उनले त्यो नेपाली जनताको आशाको मत भएको बताए। अरू राजनीतिक दलका साथै नेपाली जनताले आफूहरूलाई नमात्तिने गरी मत दिएको विषयलाई पुरानालाई सच्चिनुपर्छ भन्ने रूपमा पनि बुझ्नुपर्ने उनले बताए।  जनताले दिएको मतलाई स्वागत गर्नुपर्ने उनको भनाइ थियो।

अहिले जनमत अनुसार बनेको सरकार बनेको बताउँदै उनले यसपटक नेपाली नागरिकले साझा न्यूनतम कार्यक्रममार्फत जनमतको सम्मान गर्ने बताए। साझा न्यूनतम कार्यक्रम जनजीविकाका सवालसँग जोडिएको र त्यसको कार्यान्वयनका लागि सरकार खरो भएर उत्रिने र जनताले महसुस गर्ने गरी काम गर्ने विश्वास उनले व्यक्त गरे। सरकारका प्रथमिकता र कार्यक्रम केही समयमै सार्वजनीक गरिने जानकारी पनि उनले दिए। 

जनताले अपेक्षाको आगमनले आएको पार्टीले पनि काम नगरे जनतामा चरम निराशा छाउने उनले बताए। बेथितिहरुको जवादेहिता जनताले खोजेको उल्लेख गर्दै उनले वर्षौदेखि भ्रष्टाचारका कारण जनताको निराशामा रहेका बताए। 

सरकारलाई भ्रष्टाचारका सबै पुराना फाइल खोल्नुपर्ने, भ्रष्टाचारको निर्मम छानबिन गर्नुपर्ने जिम्मेवारी रहेको उनले बताए। ‘कुनै पनि कालखण्डामा भएका भ्रष्टाचारविरुद्ध सरकार निर्मम ढंगले प्रस्तुत हुन्छ,’ उनले भने। आफूले सम्हालेको गृह मन्त्रालयबाट पनि त्यस्त काम सुरु हुन थालेको उनले बताए। 

जनप्रतिनिधि, संसाद, गृहमन्त्रीका रूपमा आम सर्वसाधारणको समस्या समाधानमा लाग्ने र सबैले त्यसरी नै लाग्नुपर्नेमा उनले जोड दिए। तानतानमा अल्झिए जनताप्रति न्याय हुने उनको भनाइ थियो। भ्रष्टाचारका विषयमा भएका छानबिनमा प्रभाव नपारिदिन र कुनै दबाद सिर्जना नगर्न, ‘ल एन्ड अर्डर’अनुसार काम गर्न र सरकारलाई सघाउन उनले आग्रह गरे। 

आफू र आफ्नो पार्टीका सांसदबाट अनियमितता नहुने प्रतिबद्धता उनले व्यक्त गरे। ‘कुनै काण्डहरुमा हामी मुछिनेछैनौं, मुलुक र मुलुकवासीका हितमा काम गर्नेछौं, हाम्रा कारणले जनताले शिर झुकाउनुपर्ने अवस्था आउने छैन, छातीमा हात राखेर भन्छु कुनै अनियमितता हुनेछैन, भएको खण्डमा जस्तोसुकै सजाय भोग्न तयार छु,’ उनले भने।

जनप्रतिनिधिले गरेका कामले आम सर्वसाधारणलाई कति छोयो या छोएन भनेर सोच्नैपर्ने बेला आएको बताउँदै उनले व्यक्त ठुला दलबाट गरिएको प्रसतबद्धताबाट र शीर्ष नेताहरुको वाचाबाट आफूहरू हौसिएको उनले बताए। आफूहरू सरकार बनाउन गरिएको हिसाब मात्र नभएको र जनता र मुलुकको परिवर्तनका लागि आफूहरू आएको उनले बताए।  

कर्तव्य पालन गर्ने सिललसिलामा चुक्न गए पदमा झुन्डिएर नबस्ने भनाइ उनले राखे। ‘जतिसुकै आँधी आए पनि विश्वासको दियोलाई निभ्न दिनेछैनौं, इमानदार योगदानमा चुक्नेछौनौं,’ उनले भने।

 

प्रकाशित मिति: १४:४१ बजे, सोमबार, पुस २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्