प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा ढुक्क छु : ओली
अध्यक्ष ओलीले प्रधानमन्त्री र सरकारलाई रोष्ट्रमबाटै बधाई समेत दिएका छन् ।
काठमाडौं, पुस २४ : नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत पाउनेमा विश्वस्त रहेको बताएका छन् ।
‘भोली विश्वासको मत लिँदै हुनुुहुन्छ, म ढुक्क छु उहाँले प्राप्त गर्नुहुनेछ,’ सोमबार बसेको प्रतिनिधि सभाको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने।
अध्यक्ष ओलीले प्रधानमन्त्री र सरकारलाई रोष्ट्रमबाटै बधाई समेत दिएका छन् । साथै चुनौती पनि रहेको स्मरण गराए । ‘आजै पनि म उहाँलाई बधाई दिन चाहन्छु । सरकारलाई बधाई भन्न चाहन्छु । र चुनौती छन् भन्ने कुरा पनि स्मरण गराउन चाहन्छु । सहज परिस्थिती छैन,’ उनले भने ।
उनले नयाँ परिवर्तन खोजेकै कारण संसदमा नयाँ राजनीतिक दलको उपस्थिती देखिएको बताए। विगतमा पनि थुप्रै नयाँ पार्टीहरु खुलेको स्मरण गर्दै अध्यक्ष ओलीले नयाँ पार्टी खोल्दैमा परिवर्तन नहुने पनि जिकीर गरे । उनले व्यक्तिगत मानमर्यादालाई भन्दा जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताए ।











