संविधान र लोकतन्त्रको रक्षाका लागि वर्तमान प्रतिनिधिसभाले पनि पूरा कार्यकाल काम गर्न पाउनुपर्छ : देउवा
निवर्तमान प्रधानमन्त्रीसमेत रहेका उनले नयाँ प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रतिनिधिसभामा चुनिएर आएका सबै सांसदहले पाँच वर्षको कार्यकालसम्म देश र जनताको पक्षमा काम गर्ने विश्वास गरे।
काठमाडाैं, पुस २५ : कांग्रेस सभापति एवं संसदीय दलको नेता शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि वर्तमान प्रतिनिधिसभाले पनि पूरा कार्यकाल काम गर्नु पाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
निवर्तमान प्रधानमन्त्रीसमेत रहेका उनले नयाँ प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रतिनिधिसभामा चुनिएर आएका सबै सांसदहरूले पाँच वर्षको कार्यकालसम्म देश र जनताको पक्षमा काम गर्ने विश्वास गरे।
नवनियुक्त प्रधानमन्त्री, मन्त्रिपरिषदमा नियुक्त मन्त्री र प्रतिनिधिसभामा चुनिएर आएका सबै सांसदहलाई बधाई दिँदै उनले सबैलाई सफल कार्यकालको शुभकामना पनि दिए।
नयाँ प्रतिनिधिसभाको पहिलो बैठक सुरु हुँदा हर्ष र गौरवको अनुभव भएको उल्लेख गर्दै उनले संसद विघटन भएको अवस्थामा १८ महिनापहिले माओवादी केन्द्र, जसपा, नेकपा एस राष्ट्रिय जनमोर्चाको सहयोगमा आफू प्रधानमन्त्री भएको बताउँदै प्रतिनिधिसभाको कार्यकाललाई पूर्णता दिँदै स्थानीय निर्वाचन र प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन समयमै सम्पन्न गरी देशलाई लोकतन्त्रको बाटोमा लान आफूले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए।
सोही अवधिमा विश्वाव्यापी महामारीका रूपमा देखा परेको कोभिड १९ को महामारीबाटदेशलाई बचाउने काम गरेको उनले बताए।
आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य सर्त रहेको उनले बताए। निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने देशविदेशमा रहेका सबै नेपाली, मतदाता, राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा संयन्त्र, नागरिक समाज, अन्तार्राष्ट्रिय समुदायमा उनले आभार प्रकट गरे।
यो प्रतिनिधिसभाबाट जनताले धेरै अपेक्षा राखेको संघीय लोकतान्त्रिक गणतान्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट विकास र समृद्धि प्राप्त गर्नु सबैको साझा लक्ष्य रहेको उनले बताए। कांग्रेसलाई पहिलो दल बनाउन सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिएका छन्।
उनले विश्वासलाई ठेस लाग्न नदिने गरी काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। प्रतिनिधिसभामा कांग्रेस जिम्मेवार भएर प्रस्तुत हुने संकल्प पनि उनले गरे।











