बाग्मतीको मुख्यमन्त्री बन्दै जम्मकट्टेल, मुख्यमन्त्री दाबी गरेको राप्रपालाई सभामुख
पुरानो गठबन्धन टुटेर नयाँ गठबन्धन बनेको केही दिनसम्म पनि बाग्मतीमा सत्ताको बागडोर माओवादीको हातमा पुग्ने निश्चित भइसकेको थिएन, कारण सरकार गठनमा निर्णायक भूमिकामा रहेकाे राप्रपाले मुख्यमन्त्री दाबी गरिरहेकाे थियाे।
काठमाडाैं, पुस २५ : मंसिर ४ मा सम्पन्न संघ तथा प्रदेश सभाको निर्वाचनमा बाग्मती प्रदेशमा पुरानो गठबन्धनले बहुमत प्राप्त ग¥यो । कुल ११० सदस्य रहेको प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी ३७ सिट ल्याउँदै कांग्रेस सबैभन्दा ठूलो दल बन्यो । उसकै नेतृत्वको गठबन्धनमा रहेको माओवादी केन्द्रले २१ सिट ल्याउँदा एकीकृत समाजवादीले ७ सिट ल्यायो ।
त्यतिबेलाको गठबन्धन (कांग्रेस, माअोवादी केन्द्र, एकीकृत समाजवादी) सँग प्रदेशसभा सरकार गठनका लागि सुविधाजनक बहुमत (६५ सिट)थियो ।
यसो हुँदा ठूलो दलको हिसाबमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सम्भावना रहन्थ्यो । उसले बारम्बार सरकारको दाबी पनि गर्दै आएको थियो । अघिल्लो पटक एकीकृत समाजवादीलाई नेतृत्व छाडेको कांग्रेस यसपालि कुनैपनि हालतमा नेतृत्व नछाड्ने पक्षमा थियाे । कांग्रेसबाट इन्द्र बानियाँ र बहादुर सिंह लामा मुख्यमन्त्रीका आकांक्षी थिए । परिस्थिती नबदलिएको भए, लामा बाग्मतीका मुख्यमन्त्री बन्ने थिए भने माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले पछि हट्न बाध्य हुने थिए ।
तर, केन्द्रमा अकास्मात् बदलिएको राजनीतिक समिकरणले बाग्मतीमा जम्मकट्टेलाई राहत दिएको छ । मुख्यमन्त्री बन्ने उद्धेश्य लिएर प्रदेश सभाको चुनाव लडेका जम्मकट्टेल केन्द्रमा बदलिएको समिकरणले फाइदामा छन् ।
उनले अघिल्लो पटक पनि बाग्मतीको मुख्यमन्त्री दाबी गरेका थिए । तर, एमाले विभाजन गरेर गठबन्धनलाई साथ दिएकै कारण एकीकृत समाजवादीबाट राजेन्द्रप्रसाद पाण्डे बाग्मतीका मुख्यमन्त्री बन्दा जम्मकट्टेल पछि हट्न वाध्य भए ।
पुरानो गठबन्धन टुटेर नयाँ गठबन्धन बनेको केही दिनसम्म पनि बाग्मतीमा सत्ताको बागडोर माओवादीको हातमा पुग्ने निश्चित भइसकेको थिएन, कारण सरकार गठनमा राप्रपा निर्णायक भूमिकामा थियो । बाग्मतीमा राप्रपाले १३ सिट जितेको छ । यहाँ एमालेका २७ सिट छ । निर्णायक भूमिकामा रहेको राप्रपाले गठबन्धन बनेसँगै बाग्मतीको मुख्यमन्त्री दाबी गर्दै आइरहेको थियो ।
संघीयता विरोधी राप्रपाले प्रदेशको नेतृत्व माग्नु आफैमा विरोधाभासपूर्ण त रहन्छ नै । राप्रपाको एजेन्डाको बचाउ गर्दै प्रदेश संसदीय दलका नेता उद्वव थापाले मुख्यमन्त्री बनेर प्रदेश सभा खारेजीको अभियान चलाउने विवादित अभिव्यक्ति समेत दिएका थिए ।
सत्ता गठबन्धनको आइतबार रातिसम्म बसेको बैठकले बाग्मती प्रदेशमा एमाले र माओवादीको आलोपालो सरकार हुने सहमति जुटाएपछि मुख्यमन्त्री दाबी गरेको राप्रपा सभामुखमा चित्त बुझाउन बाध्य भएको छ ।
सहमतिसँगै जम्मकट्टेलको मुख्यमन्त्री बन्ने सपना साकार हुने भएको छ । उनी प्रदेश प्रमुखले दिएको समयसिमाभित्रै बहुमतको समर्थन जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारीमा छन् । ‘अहिलेसम्मको स्थिति हेर्दा मुख्यमन्त्री मै बन्छु भन्नेमा नै छु, छलफल र बैठक भइरहेका छन् बाँकी कुराहरुको टुंगो लागेपछि अपराह्नसम्म दाबी पेस गर्छौँ,’ जम्मकट्टेलले काठमाडौं प्रेससँग भने।











