सत्ता गठबन्धनको भागबन्डा : कुन प्रदेशको सभामुख र उपसभामुख कुन दललाई ?
माओवादीले ४ प्रदेशको सभामुख पाउँदा एमालेले दुई प्रदेशको सभामुख पाएको छ । बाग्मतीको सभामुख राप्रपाले पाउने भएको छ ।
काठमाडौं, पुस २४ : सत्ता साझेदार दलहरुले सातै प्रदेशका सभामुख र उपसभामुखको भागबन्डा टुंग्याएका छन् । आइतबार राति अबेरसम्म बसेको बैठकले प्रदेशको मुख्यमन्त्रीसँगै सभामुख र उपसभामुखको भागबन्डा लगाएको हो ।
जसअनुसार माओवादीले सबैभन्दा बढी चार प्रदेशमा सभामुख पाएको छ भने एमालेले दुई प्रदेशको सभामुख लिने सहमति भएको छ । माओवादीले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको सभामुख पाउने भएको छ । एमालेले मधेश प्रदेश र कर्णाली प्रदेशको सभामुख लिने सहमति भएको छ ।
त्यस्तै बाग्मती प्रदेशको सभामुख राप्रपाले लिने भएको छ ।
प्रदेश १ र गण्डकीको उपसभामुख एमालेको भागमा परेको छ । माओवादी केन्द्रले बागमती र कर्णालीमा उपसभामुख पाउँदा लुम्बिनीको उपसभामुख राप्रपाले पाएको छ ।
मधेश प्रदेशको उपसभामुख जनमत पार्टीले लिने र सुदूरपश्चिम प्रदेशको उपसभामुख नागरिक उन्मुक्ति पार्टीलाई लिने गरी सहमति भएको छ । सत्ता साझेदार दलहरुबीच मुख्यमन्त्रीसँगै सभामुख उपसभामुखको पनि सहमति भएको हो ।











