Kathmandu Press

आत्मनिर्भर अर्थतन्त्रका लागि राष्ट्रिय पूँजी निर्माण आवश्यक : राष्ट्रपति भण्डारी

आत्मनिर्भर अर्थतन्त्रका लागि राष्ट्रिय पूँजी निर्माण आवश्यक : राष्ट्रपति भण्डारी

काठमाडौं, पुस २४ : राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर उन्मुख अर्थतन्त्रका लागि पूँजी परिचालन महत्वपूर्ण हुने बताएकी छन। आज बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारणसभा उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन।

स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय पूँजी निर्माण अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । 'साना, लघु तथा घरेलु उद्योगलाई प्रवद्र्धन गरेर आन्तरिक उत्पादन बढाई आत्मनिर्भर अर्थतन्त्र बनाउनु अहिलेको आवश्यकता हो । स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि उद्यमशीलता विकासमा जोड दिन आवश्यक छ,' राष्ट्रपति भण्डारीले भनिन। स्वदेशमै उत्पादन बढाएर निर्यात प्रवद्र्धनमा जोड दिइनुपर्ने उनको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाले नाफा केन्द्रित मात्र नभई सामाजिक उत्तरदायित्वलाईसमेत ध्यानमा राख्नुपर्ने पनि राष्ट्रपति भण्डारीले बताइन। बैंक तथा वित्तीय संस्थाको पूँजी परिचालनबाट आर्थिक विकास र रोगजारी वृद्धिमा सकारात्मक प्रभाव देखिनुपर्ने उनको भनाइ छ ।

सोही कार्यक्रमम पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले नेपालको बैंक तथा वित्तीय क्षेत्रमा पछिल्लो एक दशक अवधिमा उल्लेखनीय प्रगति भएको बताइन ।
 'बैंक तथा वित्तीय संस्थामा पैसा राख्दा डुब्दैन भनेर आम मानिसमा विश्वास देखिन्छ । अहिले उनीहरूले पूँजी बढाएका छन् । प्रविधिमा प्रगति भएको छ,' उनले भनिन।
         
अनुमतिपत्रमा गरिएको कडाइ, वित्तीय साक्षारता कार्यक्रमको प्रभावकारिता, बीमा कार्यक्रम र बैंक तथा वित्तीय संस्थाको क्षेत्रगत कर्जा विस्तार योजनालगायत नियामकीय निकायले लिएका नीतिका कारण बैंक तथा वित्तीय संस्थामा सकारात्मक प्रभाव देखिएको खतिवडाको भनाइ छ । नेपालका बैंक तथा वित्तीय संस्थाले कर्जाको आकारभन्दा गुणस्तर बढाउनुपर्ने धारणा पनि उनले कार्यक्रममा राखिन।
     
त्यस्तै, नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीले विश्व आर्थिक परिदृश्य र बाह्य क्षेत्रको प्रभाव नेपालको अर्थतन्त्रमा पनि देखिएको र आगामी दिन अझ बढी चुनौतीपूर्ण हुनसक्ने बताए। 'अर्थतन्त्रमा पछिल्लो समय केही सुधार हुँदै गए पनि पूर्ण रुपमा चुनौतीबाट बाहिर आइसकेका छैनौँ । अर्थतन्त्र सुधारका लागि सबै पक्ष लाग्नुपर्नेछ । विश्व परिदृश्य हेर्दा आगामी वर्ष अझ चुनौतीपूर्ण छ', अधिकारीले भने। नेपालमा मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थिरता व्यवस्थापन चुनौतीपूर्ण हुने उनको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष बाह्य क्षेत्र अझ बढी प्रभावित हुने गभर्नर अधिकारीले बताए।

बैंक तथा वित्तीय संस्था परिसङ्घका अध्यक्ष पवन गोल्यानले बैंक तथा वित्तीय संस्थाले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनीहरुले चर्को ब्याज लिएर बढी नाफा कमाएको भ्रम सर्वसाधारणमा परेको बताए। 'बैंक तथा वित्तीय संस्थाहरु पारदर्शी छन् । उनीहरुले त्रैमासिक रुपमा वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । तर, बढी नाफा कमाउन ब्याज बढाएको भन्ने भ्रम सर्वसाधारणमा परेको छ', उनले भने । यद्यपि, बैंकको ब्याजदर वृद्धिका कारण उद्योग व्यवसायको निरन्तरतामा असर परेको गोल्यानको भनाइ छ ।

प्रकाशित मिति: २०:२१ बजे, आइतबार, पुस २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्