Kathmandu Press

सरकारलाई विश्वासको मत प्राप्त हुन्छ : अध्यक्ष ओली

सरकारलाई विश्वासको मत प्राप्त हुन्छ : अध्यक्ष ओली

काभ्रेपलाञ्चोक, पुस २४ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने बताएका छन।

पार्टी जनसङ्गठन समन्वय संयन्त्रद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित दुई दिने जनसङ्गठन सुदृढीकरण कार्यशाला उद्घाटन समारोह उनले आउँदो मङ्गलबार सरकारले विश्वासको मत प्राप्त गर्ने बताउँदै नेताकार्यकर्तालाई ढुक्क रहन आग्रह गरे।

'वर्तमान सरकारले सहज तरिकाले विश्वासको मत प्राप्त गर्नेछ, तपाईंहरू ढुक्क भएर बस्नुस्, यो एमालेले बनाएको सरकार हो,' पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने।

अध्यक्ष ओलीले साङ्केतिकरूपमा सरकारलाई विश्वासको मत नदिलाउन षड्यन्त्र भइरहेको बताए। 'बहुमत नपुग्दा तालमेल गरेर एकीकृत भएको बहुमतलाई झण्डै दुई तिहाइको स्थितिमा पुर्‍याउने एमाले हो, एमालेले कसैले नसोचेको अवस्थामा पुर्‍याउन सक्छ,' उनले भने। उनले एमाले सरकारमा वा प्रतिपक्षमा जहाँ रहे पनि देश र नागरिकको हितमा दृढतापूर्वक सक्रिय भइरहने बताए।

अध्यक्ष ओलीले जनादेशको सही व्याख्या, सही विश्लेषण र सही सदुपयोग गरेको दाबी गर्दै देशको राजनीति अत्यन्तै अनौठो गतिमा परिवर्तन भएकोमा नेपाली राजनीतिमा चासो राख्ने अचम्मित भएको बताए। 'निर्वाचनअघि भनेझैँ नयाँ जनादेशबाट सरकारअघि बढाउने योजना निर्वाचनपछि सफलतापूर्वक सम्पन्न गरेका छौँ, यसबाट नेपाली जनता खुसी छन्,' उनले भने।

एमालेमा जनसङ्गठनको असाधारण महत्त्व रहेको उनकाे धारणा थियो । सोमबारसम्म सञ्चालन हुने कार्यशालामा २३ जनवर्गीय सङ्गठनका एक सय ३० पदाधिकारी सहभागी रहेका छन्।

प्रकाशित मिति: १८:५३ बजे, आइतबार, पुस २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्