प्रदेशको भागबन्डा मिलाउन सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरू
प्रदेश १ सरकार गठनका लागि आजसम्मको समयसीमा तोकिएकाले मुख्यमन्त्री एमालेलाई र सभामुख माओवादी केन्द्रलाई दिने सहमति भए पनि बाँकी ६ वटा प्रदेश सरकारको भागबन्डा मिल्न बाँकी छ।
काठमाडौं, पुस २४ : सत्ता साझेदार दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
प्रदेश सरकार गठनका सन्दर्भमा भागबन्डा मिलाउन सो बैठक बोलाइएको हो। प्रदेश १ सरकार गठनका लागि आजसम्मको समयसीमा तोकिएकाले मुख्यमन्त्री एमालेलाई र सभामुख माओवादी केन्द्रलाई दिने सहमति भए पनि बाँकी ६ वटा प्रदेश सरकारको भागबन्डा मिल्न बाँकी छ।
बैठकमा प्रधानमन्त्री एव. माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट लिन लागेको विश्वासको मतबारे पनि छलफल हुने बताइएको छ। प्रधानमन्त्री प्रचण्डले पर्सि (पुस २६ गते मंगलबार) विश्वासको मत लिँदैछन्।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायतको उपस्थिति रहेको छ।
प्रदेश १ बाहेकमा भने सामान्य विवाद रहेकाले सहमतिबाट टुंगो लगाउन गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका हुन्।
प्रदेश १ पाएको एमाले वाग्मती र लुम्बिनीमा पनि दाबी गरेको छ। तर वाग्मती प्रदेश राप्रपाले दाबी गरिरहँदा एमालेले त्यसको सट्टामा कर्णाली प्रदेशमा दाबी गर्ने बताइएको छ।
कर्णाली र सुदूरपश्चिममा माओवादी दाबी छ तर नागरिक उन्मुक्ति पार्टीले पनि सुदूरपश्चिम दाबी गर्दा विवाद उत्पन्न भएको छ। मधेस प्रदेश भने जनता समाजवादी र जनमत पार्टीलाई आधा आधा कार्यकाल चलाउन दिनेगरी सहमति जुटाउने प्रयास भइरहेको छ।











