बाबुरामको समीक्षा : राप्रपाको पुनरुत्थान र स्वतन्त्र पार्टीले माओवादी बराबर मत ल्याउनु विडम्बना
‘प्रतिगामी शक्ति राप्रपाको एकहदसम्म पुनरुत्थान हुन लोकतन्त्रका लागि शुभसंकेत होइन । प्रदेश खारेजीको मुद्दा बोकेर जन्मिएको रास्वपाले पहिचानको आधारमा प्रदेश निर्माणका लागि लडेको माओवादी बराबर मत ल्याउनु विडम्बनापूर्ण छ’
काठमाडौं, पुस २४ : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताको चर्को विरोधी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको पुनरुत्थान हुनु लोकतन्त्रका लागि बिडम्बना रहेको बताएका छन् ।
आइतबार नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठकमा अध्यक्ष भट्टराईले पेस गरेको प्रतिवेदनमा यस्ता शक्तिहरुको पुनरुत्थान हुनु लोकतन्त्रका लागि शुभसंकेत नरहेको उल्लेख गरेका छन् ।
यस्तो प्रवृत्तिको उदयले दसौं हजार जनताको रगतसँग साटेको संघीय लोकतान्त्रिक गणतन्त्र जोखिममा रहेको उनको विश्लेषण छ । डा. भट्टराईले प्रदेश खारेजीको मुद्दा बोकेर जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टीले यस निर्वाचनबाट माओवादी केन्द्र बराबर मत ल्याउनु पनि विडम्बनापूर्ण रहेको बताएका छन् । ‘प्रतिगामी शक्ति राप्रपाको एकहदसम्म पुनरुत्थान हुन लोकतन्त्रका लागि शुभसंकेत होइन । प्रदेश खारेजीको मुद्दा बोकेर जन्मिएको रास्वपाले पहिचानको आधारमा प्रदेश निर्माणका लागि लडेको माओवादी बराबर मत ल्याउनु विडम्बनापूर्ण छ,’ उनले उल्लेख गरेका छन्।
डा. भट्टराईले यसो हुनुमा लामो समयसम्म सत्ताको नेतृत्वमा रहेका दल र तीनका नेतृत्व नै मुख्य जिम्मेवार रहेको बताएका छन् । क्रान्तिकारी रुपान्तरणका अग्रगामी मुद्दा बोकेर लडेका दलहरु लामो समयदेखि सत्तामा रहेपनि देशले उल्लेखनीय आर्थिक सफलता र शासनप्रशासनको गुणस्तर हासिल गर्न नसकेका कारण जनतामा निराशा पैदा भएको उनको विश्लेषण छ ।
उनले राजनीतिक दल र नेताहरु देश र नागरिकप्रति जवाफदेही बन्नैपर्ने बताएका छन् । डा. भट्टराइले देश संकटमा परेको बेला नेताहरुले बदलाभाव नराखी मिलेर सहकार्य गर्ने संस्कार देखाउन सक्नुपर्ने बताए । ‘यतिबेला देशको प्रमुख आवश्यकता भनेको आधारभूत कुराहरुमा राष्ट्रिय सहमतिको हो,’ उनले भनेका छन्, ‘ जनयुद्ध, जनआन्दोलन, मधेश बिद्रोहलगायत सबै आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै बाँकी उपलब्धि प्राप्तिका लागि मिलेर काम गर्नु आजको आवश्यकता हो।’
डा. भट्टराई राजनीतिक दलविना लोकतन्त्र चल्न नसक्ने बताउँछन्। स्वतन्त्र व्यक्तिहरुबाट देश बनाउने संगठित शक्ति निर्माण हुन नसक्ने उनको दाबी छ । ‘नराम्रा दलहरुको विकल्प राम्रा दलहरु हुन् । अहिलेको दलहरु पर्याप्त जनमुखी, पारदर्शी, निष्पक्ष र प्रभावकारी नभएको कुरा सही हो तर त्यसको विकल्प स्वतन्त्र उम्मेदवार हैनन् र हुन सक्दैनन्,’उनले भनेका छन् ।











