Kathmandu Press

आन्दोलन छाडेर निर्मला कुर्मी बेपत्ता घटना छानबिनमा सघाउन गृहमन्त्रीकाे आग्रह

लामाे समय बितिसक्दा पनि सरकारले निर्मला कुर्मीलाई न्याय दिन नसकेको भन्दै महिला अधिकारकर्मीहरूले माइतीघरमा आन्दोलन थालेपछि गृहमन्त्री लामिछानेले त्यस्तो आग्रह गरेका हुन्।
आन्दोलन छाडेर निर्मला कुर्मी बेपत्ता घटना छानबिनमा सघाउन गृहमन्त्रीकाे आग्रह

काठमाडौं, पुस २४ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि छानबिनमा सहयोग गर्न आन्दोलनरत पक्षलाई आग्रह गरेका छन्।

लामाे समय बितिसक्दा पनि सरकारले निर्मला कुर्मीलाई न्याय दिन नसकेको भन्दै महिला अधिकारकर्मीहरूले माइतीघरमा आन्दोलन थालेपछि गृहमन्त्री लामिछानेले त्यस्तो आग्रह गरेका हुन्। आज महिला अधिकारकर्मीहरूले लालटिन बालेर विरोध प्रदर्शन गरे। 

उक्त घटनाबारे सरकार संवेदनशील रहेको र त्यसका लागि नेपाल प्रहीको केन्द्रीय अनुशन्धान ब्युरो (सिआइबी) ले विशेष टोली परिचालन गरेको भन्दै लामिछानेले आन्दोलनका सबै गतिविधि थाती रखेर छानबिनमा सघाउन आग्रह गरेका हुन्।

कुर्मीलाई न्याय दिनुपर्ने भन्दै धर्नामा रहेकी रुबी खानलाई आफूले दुईपटक टेलिफोनमा संवाद गरिसकेको र घटनाप्रति सरकार गम्भीर रहेको गृहमन्त्री लामिछानेले जनाएको उनको सचिवालयले जानकारी दिएको छ।

लामिछानेले गृह सचिव, प्रहरी महानिरीक्षकलगायत उच्च सुरक्षा अधिकारीसँग सो विषयमा छलफल गरी सिआइबीलाई सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्न निर्देशन दिइसकेको जनाइएको छ।

बाँकेकी निर्मला कुर्मी बेपत्ता पारेको घटनामा प्रदेशसभा सदस्य बादशाह कुर्मी आरोपित छन्। उनी मंसिर गते सम्पन्न प्रदेशसभा निर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। कुर्मीविरुद्ध उजुरीसमेत परेको छ।

बाँकेको नेपालगन्ज उपमहागरपालिकाकी निर्मला कुर्मीका पतिको २०६२ मा मृत्यु भएको थियो। २०६६ मंसिरमा कुर्मीका दुई छोराको १० दिनको अन्तरालमा रहस्यमय ढंगले मृत्यु भयो।

पति र छोराका नाममा रहेको घरजग्गा सुरक्षित राखिदिने भनेर बादशाहले लालपुर्जा र नागरिकता लिएपछि कुर्मी बेपत्ता भएकी थिइन्।

प्रकाशित मिति: १५:२२ बजे, आइतबार, पुस २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्