Kathmandu Press

काँग्रेसले ४४औँ मेलमिलाप दिवस मनाउँदै

काठमाडौं, पुस १६ : नेपाली काँग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्केको दिन पुस १६ गतेलाई....

काँग्रेसले ४४औँ मेलमिलाप दिवस मनाउँदै

काठमाडौं, पुस १६ : नेपाली काँग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्केको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा काँग्रेसले बुधबार ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्‍याली, कोणसभा लगायतका कार्यक्रम गरी ४४औँ मेलमिलाप दिवस मनाउन लागेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 
 
मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्केका थियो । दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्केका काँग्रेस नेता बिपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति  र राजशक्ति मिल्नुपर्ने धारणा राखेका थिए । 
 
तत्कालीन अवस्थामा नेपालको सार्वभौमसत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्केका नेता बिपी कोइराला, गणेशमान सिंहलगायतलाई विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै सुन्दरीजलमा लगी फेरि बन्दी बनाइएको थियो । राजा महेन्द्रले २०१७ साल पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री बिपी कोइरालालगायत काँग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए । 
 
शाही ‘कु’पछि काँग्रेस नेतालाई करीब तीन महिना सिंहदरबारमा बन्दी बनाइ सो वर्षको फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी स्थानान्तरण गरिएको थियो । नेपालमा केही समय जेल जीवन बिताइसकेपछि २०२५ सालमा भारत प्रवासमा जानुभएका नेताहरू राष्ट्रियतामाथि खतरा देखिएको भन्दै आठ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्केका थिए ।  

प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गरेका जननायक बिपी कोइरालाले राजनीति मात्र होइन, नेपाली साहित्यमा पनि छुट्टै पहिचान बनाउनुभएको छ । बिपीका साहित्य सन्देशले समाज परिवर्तनमा ठूलो सहयोग पुर्‍याएको छ । नेपालमा बिपीले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सार्नुभएको दृष्टिकोण अहिले पनि सान्दर्भिक र अपरिहार्य छ । राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै काँग्रेसले ४३ वर्षअघि अवलम्बन गरेको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ ।
 
 सुन्दरीजलको बन्दीगृहमा बसेकै बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र  ‘हिटलर र यहुदी’ उपन्यास,  ‘आफ्नो कथा’(आत्मजीवनी) र जेल बस्दाको दैनिकी (पछि ‘जेल जर्नल’शीर्षकमा प्रकाशित) लेख्नुभएको थियो । बन्दीगृहमा बस्नुअघि विसं २००८ मा उहाँको ‘दोषी चश्मा’ कथासङ्ग्रह प्रकाशन भएको थियो ।  (रासस)

प्रकाशित मिति: ०६:५३ बजे, बुधबार, पुस १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्