Kathmandu Press

प्रधानमन्त्री प्रचण्डसँग माधव नेपाल र उपेन्द्र यादवको छलफल

आइतबार बिहान १० बजे नेपाल र यादवले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।
प्रधानमन्त्री प्रचण्डसँग माधव नेपाल र उपेन्द्र यादवको छलफल

काठमाडौं, पुस २४ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । 

आइतबार बिहान १० बजे नेपाल र यादवले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । बालुवाटारमा भएको भेटमा झन्डै एक घन्टा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले काठमाडौं प्रेसलाई जानकारी दिए । 

भेटमा प्रधानमन्त्रीले सोमबार लिन लागेको विश्वासको मतका बारेमा छलफल भएको बताइएको छ । त्यस्तै प्रदेश सरकार गठन र समसामयिक राजनीतिक विषयमा पनि सामान्य छलफल भएको बताइएको छ । 

जसपाले यसअघि नै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि औपचारिक रुपमा प्रधानमन्त्रीलाई विश्वासको मत दिनेनदिने बारे निर्णय गरेको छैन । 

भेटमा वामपन्थी शक्तिहरुका बीच एकताको विषयमा पनि छलफल गरिएको छ । एकीकृत समाजवादीले वामपन्थी शक्तिबीच एकताको पहल गर्न चार सदस्यीय कार्यदल गठन गरिसकेको छ । एकीकृत समाजवादीले जसपासँग एकताको पहल गरिरहेको छ । त्यस्तै माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता गर्न कार्यदल बनिसकेको छ । 

 यता, सत्ता गठबन्धनको बैठकअघि तीन नेताहरूको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ।  

प्रकाशित मिति: १२:३३ बजे, आइतबार, पुस २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्