Kathmandu Press

भारत जाने क्रममा तुइनबाट खस्दा १० वर्षीय बालक बेपत्ता

नेपालको ब्यासबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नं ४ डोकटका १० वर्षीय बालक दीपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता भएको स्थानीय दीपक खातीले जानकारी दिए।
भारत जाने क्रममा तुइनबाट खस्दा १० वर्षीय बालक बेपत्ता

खलंगा, पुस २३ : दार्चुलाको व्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा खसेर एक बालक बेपत्ता भएका छन् । नेपालको ब्यासबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नं ४ डोकटका १० वर्षीय बालक दीपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता भएको स्थानीय दीपक खातीले जानकारी दिए।

यस घटनाबारे अहिलेसम्म कुनै पनि जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गोबिन्द भण्डारीले बताए। उनका अनुसार घटनाका बारेमा स्थानीयले कुनै जानकारी नगराएको र अहिले प्रहारी चौकी सुन्सेराबाट वरिष्ठ प्रहरी सहायक निरीक्षक भरत अधिकारीको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ पठाएको बताए।

बेपत्ता दीपेन्द्र बिहीबार २१ गते दिउँसो २ बजे भारततिर खर काट्न गएकी आमाको पछिपछि गएका थिए । व्यास क्षेत्रमा सञ्चार सुविधा नभएका कारण घटनाबारे शनिबारमात्र जानकारी भएको ब्यास गाउँपालिकाका प्रवक्ता नरेन्द्र भट्टले बताए। उनका अनुसार बेपत्ता दीपेन्द्र ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत छन् ।

डोकडका स्थानीयवासी खर काट्न भारततिर जाने चलन रहेको र सय मिटरमाथि झोलुङ्गे पुल भए पनि सजिलोका लागि स्थानीयवासीले त्यस क्षेत्रमा तुइन हाल्ने गरेका छन् । तुइन काट्ने डरले स्थानीयवासीले घटना बाहिर नल्याएको हुनसक्ने स्थानीय दीपक खातीले बताए।

प्रकाशित मिति: १९:०८ बजे, शनिबार, पुस २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्