Kathmandu Press

यसरी मनाइयो टुँडिखेलमा तमु ल्होसार (फोटो फिचर)

काठमाडौं, पुस १५ :   गुरुङ समुदायले मृग (फो) वर्षलाई विदाइ र मुसा (च्यु) को स्वागत गर्दै नयाँ वर्षका रुपमा देशभर तमु ल्होसार मनाएका छन्....

यसरी मनाइयो टुँडिखेलमा तमु ल्होसार (फोटो फिचर)

काठमाडौं, पुस १५ :   गुरुङ समुदायले मृग (फो) वर्षलाई विदाइ र मुसा (च्यु) को स्वागत गर्दै नयाँ वर्षका रुपमा देशभर तमु ल्होसार मनाएका छन्।

गाउँघरमा विशेष रुपमा मनाइने तमु ल्होसार मनाउन केही वर्ष यता टुँडिखेलमा विशेष जमघटसहित मेला लाग्दै आएको छ। लमजुङबासी ६० वर्षीय डल्लु गुरुङ  पहिलो पटक टुँडिखेलमा मनाइने तमु ल्होसा कस्तो हुन्छ भनेर मंगलबार काठमाडौं आइपुगेकी थिइन्। 

‘हाम्रो गाउँमा सबै जना मिलेर दोहोरी गाएर नाच्छौं,’ उनले भनिन्,‘कोदोको रोटी, चामलको माल्पा र मासु खाने गरेको गरिन्छ। यहाँ कस्तो हुँदो रहेछ भनेर हेर्न आएकी हुँ।’  राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष उपस्थितिमा भएको कार्यक्रममा विभिन्न झाँकी र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो।

तमु छ्यला छोजद्यीं गुरुङ राष्ट्रिय परिवार उपत्यका समितिका मिडिया संयोजक डण्ड गुरुङका अनुसार पुराना पुस्ताले मान्दै आएको ल्होसार संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न यस किसिमको मेला आयोजना गरिएको हो।

परापूर्वकादेखि नै गुरुङ समुदायले वर्षलाई बाह्र वटा जनावरको नामाकरण गरी पुस १५ मा नयाँ वर्षको रुपमा विशेषगरी मनाउँदै आएका छन्। मृगा, मुसा, गाई, बाघ, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट हरेक वर्षको नाम दिइएको छ। 

सूर्यको किरणसँग सम्बन्धित तमु ल्होसार गुरुङ समुदायले पुस १५ मा मनाउने ल्होसार तामाङ र शेर्पा जातिले भने माघ र फागुनमा मनाउने गर्छन्। ल्होसारको अवसरमा टुँडिखेलमा १५० भन्दा बढी स्टल राखिएको थियो।

बालबालिका समाजकल्याण तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले यो पर्वलाई राष्ट्रिय स्तरमा नै मनाउनु पर्नेमा जोड दिए।  

प्रकाशित मिति: १९:२७ बजे, मंगलबार, पुस १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्