ओलीले आफ्नो स्वार्थ पूरा गरेपछि प्रचण्डलाई धोका दिन्छन् : कांग्रेस नेता उपाध्याय
उपाध्यायले एमालेले राष्ट्रपति र सभामुख लगायतका महत्वपूर्ण पदलाई प्राप्त गर्नका लागि एमालेले विश्वासको मत दिने र त्यसपछि साथ छोड्ने जिकिर गरे।
बुटवल, पुस २३ : नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वार्थ पूरा गरेपछि प्रचण्डलाई धोका दिने दाबी गरेका छन्।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शनिवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्दै उपाध्यायले एमालेले राष्ट्रपति र सभामुख लगायतका महत्वपूर्ण पदलाई प्राप्त गर्नका लागि एमालेले विश्वासको मत दिने र त्यसपछि साथ छोड्ने जिकिर गरे।
उनले भर्खरै सम्पन्न निर्वाचनले नेपालको पुरानो दुई ठूला पार्टीहरु कांग्रेस र एमाले कमजोर बनेको भन्दै समयमा नै सचेत भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।
उपाध्यायले दलहरुभित्र रहेको भागवण्डा, गुटबन्दी नैतिक मुल्य मान्यतामा ह्रास हुँदै गएकाले देशको राजनीतिक, आर्थिक र सार्वभौम अवस्था जटिल अवस्थामा पुगेको र देशको खलबलिएको स्थितिलाई जोगाउन पुराना दलहरु सच्चिन जरुरी रहेको उल्लेख गरे।
नेता उपाध्यायले पछिल्लो राजनितिक घटनाक्रमले दलका नेताहरुले विचारको राजनिति भन्दा सत्ता स्वार्थमा निहित भएर राजनिति गरेको आरोप लगाए।
उपाध्यायले विदेशी शक्तिहरुले गणतन्त्र,धर्मनिरपेक्षता र संघीयतालाई देशमा छिराएर देशमा अस्थिरता ल्याउने काम गरेको आरोप लगाए।











