भ्रमण वर्षको भव्य उद्घाटन गर्दै सरकार, ‘पार्किङ वे’मा घाम ताप्दै सरकारी विमान
काठमाडौं, पुस १५ : सरकार नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन भव्य गर्ने तयारी गरिरहँदा सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमको आन्तरिक उडान भने....

काठमाडौं, पुस १५ : सरकार नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन भव्य गर्ने तयारी गरिरहँदा सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमको आन्तरिक उडान भने अस्तव्यस्त बनेको छ।
पर्यटन मन्त्री योगेश भट्टराई मन्त्रालय प्रवेश गरेसँगै बाचा गरेको निगम व्यवस्थापनको चुस्तता बोलीमा मात्रै सीमित भएको छ। सरकारको कार्यक्रममा सरकारी विमान कम्पनीले धमाधन उडान गर्ने समयमा निगमका आन्तरिक उडान भर्ने विमान नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘पार्किङ वे’मा घाम तापेर बसेका छन्।
हाल आन्तरिक उडान गरेका ६ वटा विमान घाम तापेर बसेका छन्। घाम ताप्नेमध्येमा चिनियाँ अनुदानका चारै वटा वाई–१२, एमए ६० र एउटा ट्विनअटर विमान छन्। ट्विनअटर विमान विगत सात वर्षदेखि विमानस्थलको पार्किङ वे ओगटेर घाम ताप्दै बसेको छ।
आन्तरिक उडानका लागि रहेका ९ वटा विमानमध्ये तीन वटा विमानले मात्रै उडान भर्दै आएको निगमका सहप्रवक्ता सुलेश मिश्रले बताए। उनका अनुसार दुई वटा टि्वनअटरले काठमाडौं र नेपालगञ्जलाई आधार बनाएर उडान गर्दै आएका छन् भने एमए–६० विमानले काठमाडौं र धनगढीमा उडान गर्दै आएको छ।
मुख्य पर्यटकीय क्षेत्रमा उडान भर्ने विमानहरु ग्राउण्डेड हुँदा समेत निगम व्यवस्थापनले सञ्चालनको कुनै तयारी गरेको छैन। सरकारको कार्यक्रममा सरकारी विमानकै उडान बन्द हुँदा निजी क्षेत्रका विमान कम्पनीहरु भने खुशी भएका छन्।
गत साउन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका रुपमा सपथ लिएर मन्त्रालय गएको पहिलो दिनमै मन्त्री भट्टराईले नेपाल एयरलाइन्सलाई उत्कृष्ट बनाउने भन्दै फूल गियरमा काम हुने बताएका थिए। तर यो चार महिनामा नेपाल एयरलाइन्समा कुनै प्रगति भएको छैन। उनले निगम सुधारका लागि विभिन्न समिति बनाएर काम अघि बढाए पनि कुनै प्रगति भएको छैन।
नेपाल एयरलाइन्सका घाम तापेका विमानले नेपाल भ्रमणमा आएका विदेशीलाई गिज्याइरहेको छ।











