संसदमा सक्रिय भूमिका निर्वाह गर्न कांग्रेस सभापति देउवाकाे निर्देशन
संसदीय दलको अर्को बैठक २६ गते बिहान ९ बजेका लागि बोलाइएको छ।
काठमाडौं, पुस २३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निवनिर्वाचित सांसदहरूलाई बधाई दिँदै संसद्मा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्। उनी कांग्रेस संसदीय दलको नेता पनि हुन्।
संसदीय दलको पहिलो बैठक भएकाले सामान्य विषयमा मात्र छलफल भए। बैठकमा संसदीय प्रक्रिया र मर्यादाबारे प्रमुख सचेतक रमेश लेखकले जानकारी गराएका थिए।
उनले विश्वासको मतका विषयमा छलफल गर्न पुस २६ गते पुन संसदीय दलको बैठक बस्ने र आवश्यक निर्णय गर्ने जानकारी दिए। लेखकले अहिलको गठबन्धन भत्काउने र नयाँ गठबन्धन बनाउने कांग्रेसको कुनै तयारी नरहेको स्पष्ट पारे।
पुस २६ गते माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते प्रतिनिधिसभमा विश्वासको मत लिँदैछन्।
त्यस्तै कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलको बैठकमा प्रतिनिधिसभामा खेल्नुपर्ने भूमिकाका बारेमा छलफल भएको बताए। उनले केन्द्रीय समितीको बैठकमा निर्वाचनको समिक्षा, राजनीतिक घटनाक्रमको समिक्षाका साथै सरकार गठनमा किन चुक्यो भन्ने बिषयमा छलफल गर्दै नयाँ मार्ग तय गर्ने धारणा राखे।
बैठकले संसदीय दलको कार्यसमितिलाई पूर्णता दिने प्रक्रिया आरम्भ गर्ने निर्णय पनि गरेको छ ।
प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल कांग्रेसमा ८९ सांसद छन्।











