Kathmandu Press

चिडियाखानाले उद्धार गर्नुपर्ने जीवजन्तु घटे

विशेषगरी उद्धार गरेर ल्याइनेमा चितुवा, नीर बिरालो, स्याल, बाँदर, कछुवा रहेका छन्। त्यसमा सबैभन्दा बढी चितुवा ल्याउने गरिएको चिडियाखानाकी व्यवस्थापन प्रमुख रचना साहले जानकारी दिइन्।   
चिडियाखानाले उद्धार गर्नुपर्ने जीवजन्तु घटे

काठमाडौं, पुस २३ :  कुनै समय वार्षिक एक हजारभन्दा बढी जीवजन्तुको उद्धार गर्दै आएको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पछिल्लो समय यसरी ल्याइने जीवजन्तुको सङ्ख्यामा कमी आएको छ। 

पछिल्लो समय सामुदायिक वन सञ्चालनमा आउँदा जीवजन्तु उक्त स्थानमै बास बस्ने गरेका र मानिसमा जीवजन्तुलाई माया गर्नुपर्छ भन्ने भावना पलाउनु पनि उद्धार गर्ने जनावर घट्नुको कारण रहेको बताइएको छ।

विशेषगरी उद्धार गरेर ल्याइनेमा चितुवा, नीर बिरालो, स्याल, बाँदर, कछुवा रहेका छन्। त्यसमा सबैभन्दा बढी चितुवा ल्याउने गरिएको चिडियाखानाकी व्यवस्थापन प्रमुख रचना साहले जानकारी दिइन्।   

Hardik ivf

उनका अनुसार उद्धार गरी ल्याइने अधिकांश जनावरलाई लामो समय स्वास्थ्य उपचार गर्नुपर्छ। उपचारका क्रममा केही मर्छन्। उपचारपछि राम्रो स्वास्थ्य भएकालाई सम्भव भएसम्म बासस्थानमै लगेर छाड्ने गरिएको छ। केहीलाई स्थानको अभाव हुँदाहुँदै पनि यही राखेर व्यवस्थापन गरिँदै आएको प्रमुख साह बताउँछिन्। 

यसरी ल्याइने जनावर काठमाडौँ उपत्यकाका विभिन्न स्थान चोभार, चन्द्रागिरि र केही उपत्यका बाहिरबाट पनि ल्याइने गरिएको छ। उनका अनुसार उद्धार गरी ल्याइएका जनावर कोही मानिसलाई आक्रमण गर्न आउँदा मानिसले कुटेर घाइते भएका त कोही रोग लागेर अलपत्र अवस्थामा रहेका हुन्छन्। गत वर्ष चिडियाखानाले  सानाठुला गरी करिब ६ सय जनावरको उद्धार तथा उपचार गरेको जनाएको छ। 

हाल चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ जीवजन्तु छन्। त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे छन्।

ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन्। नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ। 

चिडियाखाना अवलोकन गर्न विदेशीका लागि रु सात सय ५०, सार्क देशका लागि रु पाँच सय, नेपालीलाई रु एक सय ५० र नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिएको छ। 

तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशमशेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाका रूपमा स्थापना गरेका थिए।

२०११ देखि सर्वसाधारणका लागि खुला गरिएको चिडियाखानाको विसं २०५२ देखि व्यवस्थापनको जिम्मा नेपाल सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको थियो। 

प्रकाशित मिति: १३:४७ बजे, शनिबार, पुस २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्