Kathmandu Press

वादी समुदायको जीविकोपार्जनका लागि पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री निवास बालुवाटारमा आज बधाई तथा ज्ञापनपत्र बुझाउन पुगेका वादी समुदायका अगुवासँगको छलफलमा उनले आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा वादी समुदायका पक्षमा मन्त्रिपरिषद्बाट निर्णय गरेको स्मरण गराए।
वादी समुदायको जीविकोपार्जनका लागि पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं, पुस २३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वादी समुदायको आत्मसम्मानको रक्षा तथा जीविकोपार्जनका लागि परिणामुखी पहल गरिने बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बधाई तथा ज्ञापनपत्र बुझाउन पुगेका वादी समुदायका अगुवासँगको छलफलमा उनले आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा वादी समुदायका पक्षमा मन्त्रिपरिषद्बाट निर्णय गरेको स्मरण गराए।

उनले उक्त निर्णय कार्यान्वयनमा देखिएका समस्या हल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। 

'म पहिलोपटक प्रधानमन्त्री हुँदा वादी समुदायको आत्मसम्मान, जीविकोपार्जन र व्यवस्थित पुनःस्थापनाका लागि निर्णय गरेको स्मरण छ, इतिहासमै पहिलोपटक राज्यले औपचारिकरुपमा वादी समुदायलाई सम्बोधन गरेको पुस २३ को दिनलाई विजयोत्सवका रुपमा मनाउनुपर्छ', उनले भने, 'वादी उत्थान विकास समितिलाई सक्रिय बनाउँदै समुदायले भोग्नुपरेका समस्या समाधान गर्न हामी सरकारका तर्फबाट प्रभावकारी पहल गर्छौं।'

वादी समुदायका प्रतिनिधिले प्रधानमन्त्री दाहाललाई सफल कार्यकालको शुभकामना दिँदै वादी समुदायले भोग्नुपरेका शिक्षा, स्वास्थ्य, रोजगारी, नागरिकता, पुनःस्थापना र विकास समितिको सक्रियता जस्ता विषयमा ध्यानाकर्षण गराएका थिए। 

वादी समुदायका पक्षमा पहिलोपटक प्रधानमन्त्री हुँदा राजनीतिक रुपमा सम्बोधन गरेकामा प्रधानमन्त्री दाहाललाई धन्यवाद दिँदै उनीहरुले अहिलेको कार्यकालमा ती विषय कार्यान्वयन हुने विश्वास व्यक्त गरेका थिए। 

प्रकाशित मिति: १३:३३ बजे, शनिबार, पुस २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्