Kathmandu Press

आगामी चैत ५ गते स्ववियु निर्वाचन

आगामी चैत ५ गते स्ववियु निर्वाचन

काठमाडाैं, पुस २२ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । आज बसेको त्रिवि कार्यकारी परिषद्ले सो निर्णय गरेको त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहालले जानकारी दिए।

उनका अनुसार परिषद्ले नै स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गर्नेछ । समितिले स्ववियु कार्यतालिका प्रकाशन गर्नेछ । यही पुस २१ गते त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्नका लागि त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको थियो । उनले विद्यार्थी कल्याण परिषद्ले सिफारिस गरेअनुसार नै स्ववियु निर्वाचन गर्ने निर्णय गरेको बताए।
 
सबै विद्यार्थी सङ्गठनको सल्लाह र परीक्षा, भर्ना कार्यतालिकालाई असर नपर्ने गरी विद्यार्थी कल्याण परिषद्ले निर्वाचनको मिति तय गरेको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेसँगै आफू अब स्ववियु निर्वाचनको तयारीमा लाग्ने बताए।

त्रिविले स्ववियु निर्वाचनका सम्बन्धमा त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौ वटै सङ्कायका डीन र परीक्षा नियन्त्रक तथा सबै विद्यार्थी सङ्गठनका अध्यक्ष छलफल गरेको थियो । त्रिविले स्ववियु निर्वाचन गर्न पटकपटक पहल गरे पनि हुन सकेको छैन । त्रिवि क्याम्पसमा विगत एक दशकदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । प्रत्येक दुई/दुई वर्षमा हुने निर्वाचन २०६५ साल यता नियमित हुन नसकेको हो ।

विसं २०६५ साल चैत ६ गतेपछि एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो । त्यतिबेला देशैभरी त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकामा नौ वटा आङ्गिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो । यस्तै उपत्यकाका १३ क्याम्पस र उपत्यका बाहिर २३ वटा आङ्गिक क्याम्पसमा निर्वाचन हुन नसकेको थिएन । त्रिबीमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन्। स्ववियु निर्वाचन २८ वर्ष उमेरहदवन्दी र मिश्रित निर्वाचन प्रणाली लागु गरिएको छ।

प्रकाशित मिति: २०:२५ बजे, शुक्रबार, पुस २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्