डा. चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत महोत्तरीकाे आदेश

महाेत्तरी, पुस २२ : जिल्ला अदालत महोत्तरीले डा.पंकज चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। दाइजोसम्बन्धी कसुरमा पक्राउ परेका चाैधरीलाई शुक्रबार भएको थुनछेक बहसमा जिल्ला अदालत महोत्तरीका न्ययाधीश हरिप्रसाद शर्मा उपाध्यायको एकल इजलासले थुनामा पठाउन आदेश दिएको हो।
उनकी पत्नी औरही–१ की २१ वर्षीया नेहा चौधरीले पंकजविरूद्ध दाइजोसम्बन्धी कसुर मुद्दा दायर गरेकी थिइन।
गत वर्षको फागुन २५ गते नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो। त्यसको ७ महिनापछि नेहाले गत कात्तिक २५ मा फेसबुकमार्फत् दाइजोका नाममा श्रीमान र परिवारका अन्य सदस्यले आफूमाथि हिंसा भएकाे भन्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएकी थिइन्।
नेहाको तर्फबाट वकालत गरिरहेकी वकिल रिंकु यादवका अनुसार नेहाले श्रीमान पंकज र परिवारका सदस्यविरूद्ध बकपत्र बदर, जालसाजी, घरेलु हिंसा, दाइजो, मानाचामल र अंश मुद्दा दिएकी छन्।
उनका श्रीमान पंकजले भने सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन्।











