प्रचण्डलाई विश्वासको मत दिनेनदिने विषयमा पार्टीमा निर्णय हुन बाँकी छ : नेपाल
नयाँ प्रतिनिधिसभाको पहिलो बैठक यही पुस २५ गते बस्दैछ भने त्यसैको भोलिपल्ट २६ गतेमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन्।
काठमाडाैं, पुस २२ : नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिनेनदिने विषयमा पार्टीमा निर्णय भइनसकेको बताएका छन्।
प्रतिनिधिसभाको पहिलो बैठकका एजेन्डा तय गर्न आज (शुक्रबार) संसद भवन नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले विश्वासको मतबारे पार्टीले निर्णय गर्न बाँकी रहेको बताएका हुन्। व्यक्तिगत रुपमा प्रचण्डप्रति आफू सकारात्मक रहेको धारणासमेत उनले व्यक्त गरे।
‘विश्वासको मतबारे विभिन्न पक्षबाट विश्लेषण गर्छौं। सरकार कुन ढंगले अगाडि बढ्छ भन्ने हेरेर मात्र एउटा टुंगोमा पुग्छौं,’ उनले भने, ‘व्यक्तिगत रुपमा प्रचण्डजीप्रति सकारात्मक धारणा छ।’
नयाँ प्रतिनिधिसभाको पहिलो बैठक यही पुस २५ गते बस्दैछ भने त्यसैको भोलिपल्ट २६ गतेमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन्।











