Kathmandu Press

सभामुखबारे छलफल नै नगरी उठे ओली र प्रचण्ड

काठमाडौं, पुस १५ ः नेकपाका दुई अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटघाट प्रतिनिधिसभाको नयाँ सभामुखका उम्मेद्वार चयनब....

सभामुखबारे छलफल नै नगरी उठे ओली र प्रचण्ड
फाइल फोटो ।

काठमाडौं, पुस १५ ः नेकपाका दुई अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटघाट प्रतिनिधिसभाको नयाँ सभामुखका उम्मेद्वार चयनबारे छलफल नै नगरी टुंगिएको छ । 

प्रचण्ड मंगलबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार गएका थिए तर सभामुखबारे छलफल नै नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ‘दुई अध्यक्षबीचको भेटघाटमा अन्य विषयहरूमा छलफल भए सभामुखबारे कुराकानी भएन’, थापाले काठमाडौंप्रेस सँग भने ।

पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई भने प्रचण्डले यसअघि नै ‘तपाईं नै सभामुख बन्नुपर्छ’ भनिसकेका छन् तरसभामुख त्यत्तिकै साविक एमालेलाई छाडिदिँदा पूर्वमाओवादीलाई संरक्षण गर्न नसकेको सन्देश जाने हुनाले सभामुख नछाड्न अध्यक्ष प्रचण्डमाथि उनको पूर्वसमूहको दबाब छ । 

नेकपा सचिवालय बैठकले नयाँ सभामुख चयनको जिम्मा दुई अध्यक्षलाई दिएको भए पनि दुई अध्यक्षबीच यसबारे छलफल नै भएको छैन । सभामुख चयन नहुँदा संसदीय काम–कारवाही ठप्प छ । संसद्का महासचिव मनाेहरप्रसाद भट्टराईले प्रतिनिधिसभाकाे बैठक पुस २७ सम्मका लागि स्थगित गरेकाे सूचना प्रकाशित गरेका छन् । यसअघि पुस ११ गते सूचना टाँसेर १६ गते बस्ने जानकारी गराइएकाे थियाे । 

नेकपा उच्च स्रोतका अनुसार, प्रचण्डले सभामुख साविक एमालेलाई छाड्दा कानूनमन्त्री साविक माओवादीको भागमा पार्ने प्रयास गरेका छन् तर प्रधानमन्त्री ओली गृह मन्त्रालय र विकास निर्माणसँग जोडिने सबै मन्त्रालय साविक माओवादीलाई दिन तयार भए पनि अर्थ र कानून मन्त्रालय दिन तयार छैनन् । 

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सभामुखको निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची राखेर ११ पुसमा बोलाएको प्रतिनिधिसभा बैठक नेकपाले उम्मेद्वार टुंगो नलगाएका कारण सूचना टाँसेर पुस १६ पुसका लागि सारेकी छिन् ।

प्रचण्डले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई ‘तपाईं सभामुख’ भनिसकेको भए पनि अर्का स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई सभामुखका रूपमा अघि सारेका छन्। पहिले पनि माओवादी नेता कृष्णबहादुर महरा सभामुख भएकाले अहिले सभामुख पद आफैसँग राख्न पूर्वमाओवादी पक्षधर नेताहरुले प्रचण्डमाथि दवाब दिइरहेका छन्।  

नेकपाबाटै सभामुख चुनिनका लागि प्रतिनिधिसभामा सभामुखको निर्वाचन कार्यक्रम घोषणा हुनुअघि नै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा गरिसक्नुपर्ने हुन्छ । सूचना टाँसेर संसद् बैठक स्थगन गरेलगत्तै तुम्बाहाङ्फेले भनेकी छिन्, ‘सभामुख चयनमा म बाधक छैन । राजीनामा दिन तयार भएर बसेकी छु । आजको बैठक स्थगनमा मेरो राजीनामा कारक होइन ।’ 

नेकपा स्रोतका अनुसार, उपसभामुख तुम्बाहाङ्फेले आफूलाई सभामुखको उम्मेद्वार बनाउन पार्टी नेतृत्वलाई दबाब दिइरहेकी छिन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको समेत ‘आशीर्वाद’ रहेको चर्चा नेकपाभित्र छ । उनको पक्षमा सबै प्रदेशका उपसभामुखहरू र नारीवादी संघसंस्थाले दबाब सिर्जना गरिरहेका छन् । उनले पार्टीबाट सभामुखको उम्मेद्वार टुंगो नलागेसम्म राजीनामा नगरी आफूलाई सभामुख बनाउनुपर्ने पक्षमा दबाब दिइरहने छिन् । 

स्रोतका अनुसार, उपसभामुख तुम्बाहाङफेले पुस १६ का लागि तोकिएको संसद् बैठकबारे छलफल गर्न प्रमुख सचेतक र सचेतकहरुको बैठक बोलाउने तयारी गरेकी छन् ।

प्रकाशित मिति: १४:२३ बजे, मंगलबार, पुस १५, २०७६