उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादबारे आज सुनुवाई हुँदै

काठमाडौं, पुस २२ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्चमा आज सुनुवाइ हुँदै छ ।सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबारका लागि पेसी तोकिएको छ ।
लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले ६ पुसमा आजका लागि दुवै पक्षलाई छलफलमा झिकाउन आदेश दिएको थियो ।
आज हुने छलफल लामिछानेविरुद्ध दर्ता दर्ता निवेदनमाथि अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने विषयमा केन्द्रित हुने सर्वोच्चले जनाएको छ । लामिछानेविरुद्ध अन्तरिम आदेश जारी भए उनी सांसद अनि मन्त्री समेत हुन पाउँदैनन् । अन्तरिम आदेश जारी नभए उनको पद यथावत रहन्छ ।
लामिछानेले दोहोरो नागरिकता र पासपोर्ट प्रयोगमा ल्याएको तथा स्वतः खारेज भइसकेको नागरिकता प्रयोग गरी दल दर्ता गरेको, निर्वाचनमा सहभागी भएको लगायतका आरोप लगाएर युवराज पौडेल (सफल) लगायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
पुष २२ गते शुक्रबारका लागि लिखित जवाफसहित विपक्षीहरुलाई छलपलमा बोलाएपछि बिहीबार अपरान्हसम्म संघीय संसद सचिवालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौंले महान्यायाधिवक्ता कार्यालयमार्फत् सर्वोच्चमा लिखित जवाफ पठाइसकेका छन् ।











