कांग्रेस निर्वाचन परिचालन उपसमितिकाे सुझाव : गठबन्धनबाट पार्टीलाई के फाइदा भयाे, खाेज्नुपर्छ
उपसमितिले कांग्रेसले समयक्रममा फेरिइरहने मतदाताकाे मनोविज्ञान बुझ्ने, नयाँ मतदातालाई आकर्षित गर्ने र उनीहरू लक्षित कार्यक्रम बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा पनि जोड दिएको छ।
काठमाडौं, पुस २१ : छुट्टाछुट्टै राजनीतिक, सामाजिक र आर्थिक एजेन्डा बोकेका दलहरुसँगको सहकार्यले कांग्रेसलाई केकति क्षति वा फाइदा भयो भनेर नेतृत्वले कार्यकर्तालाई जवाफ दिनुपर्ने सुझाव सोही पार्टीद्वारा गठित निर्वाचन अनुगमन तथा अनुशासन उपसमितिले दिएको छ।
निर्वाचन परिचालन समितिअन्तर्गतको उक्त उपसमितिले आज (बिहीबार) आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै त्यस्तो सुझाव दिएको हो।
उपसमितिले कांग्रेसले समयक्रममा फेरिइरहने मतदाताकाे मनोविज्ञान बुझ्ने, नयाँ मतदातालाई आकर्षित गर्ने र उनीहरू लक्षित कार्यक्रम बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा पनि जोड दिएको छ।
पार्टीले केन्द्रीय तहबाट समेत प्रशिक्षण, मूल्यांकन, पुरस्कार र दण्डको व्यवस्था गरी देशैभर एकरूपता कायम गर्नुपर्ने पनि सो समितिले जनाएको छ।
पार्टीको निर्देशनविपरीत गतिविधि गरेको ठहर भएकालाई पुनः दलमा प्रवेश गर्न दिन नहुने, मतदाताको मनोविज्ञान बुझ्नुपर्ने, विगतमा कांग्रेसमा सक्रिय भई हाल निष्क्रिय रहेका तथा प्रबुद्ध वर्गसँग निरन्तर संवाद गर्नुपर्ने सुझाव पनि दिइएको छ।
सुझावमा पार्टी नेताकार्यकर्ताले सोचविचार गरेर मात्र बोल्नुपर्ने, आगामी दिनमा आफूभित्रको कमीकमजोरीको समीक्षा गदै सच्चिने र पाटीलाई एजेन्डनमुखी बनाउने दिशातर्फ उन्मुख हुनुपर्ने पनि बताइएको छ।
निर्वाचनमा असर पर्ने विषयवस्तु जस्तै उम्मेदवार छनोट, घोषयापत्र, प्रचारप्रसार, मतदाता शिक्षालगायत व्यवस्थापकीय कार्यमा विशेष जोड दिनुपर्ने आवश्यकता पनि औंल्याएको छ।
हेर्नुहाेस् प्रतिवेदन











