निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण : डीआइजी दुर्गा सिंह नेतृत्वको टोली कञ्चनपुरमा
गृहको निर्देशनपछि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का डीआइजी दुर्गा सिंहको संयोजकत्वमा अनुसन्धान टोली गठन गरी कञ्चनपुर पठाएका छन् ।
काठमाडौं, पुस २१ : गृहमन्त्री रवि लामिछानेको निर्देशनमा प्रहरी प्रधान कार्यालयले निर्मला पन्त प्रकरणबारे पुनः अनुसन्धान सुरु गर्ने भएको छ ।
गृहमन्त्रीको पदभार ग्रहण गर्ने क्रममा लामिछानेले आफ्नो पहिलो काम निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा अनुसन्धान सुरु गर्ने रहेको बताएका थिए । सोही अनुसार प्रहरी प्रधान कार्यालयले अनुसन्धान टोली गठन गरेको छ ।
गृहको निर्देशनपछि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का डीआइजी दुर्गा सिंहको संयोजकत्वमा अनुसन्धान टोली गठन गरी कञ्चनपुर पठाएका छन् ।
२०७५ असोज ११ गते कञ्चनपुरको भीमदत्त नगरपालिका–११ स्थित निम्बुखेडा खोला किनारको उखुबारीमा निर्मला पन्तको शव भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको प्रहरीले पुष्टि गरेको थियो । तर, प्रहरीबाटै घटनास्थलबाट प्रमाण नष्ट भएपछि अहिलेसम्म अभियुक्त पक्राउ पर्न सकेको छैन ।
सो प्रकरणको अनुसन्धानका लागि पटकपटक अनुसन्धान समिति बनेपनि हत्यारा पत्ता लगाउन सकेको छैन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र कञ्चनपुर प्रहरीले घटना अनुसन्धान गर्ने क्रममा भदौ ३ गते दिलिपसिंह विष्टलाई पक्राउ गरेको थियो । तर प्रमाण नपुगेपछि उनलाई छाडिएको थियो । यस प्रकरणमा प्रहरीका ठूलाठूला अधिकारी नै निलम्बनमा परेका थिए।
घटनापछि विभिन्न मितिमा जिल्ला प्रहरी, प्रदेश प्रहरी, प्रहरी प्रधान कार्यालय र गृहमन्त्रालयले अनुसन्धान तथा छानबिन र अनुसन्धान टोली बनाए पनि ती संयन्त्रका सुझावसहितका प्रतिवेदन अझै बेवारिस छन् ।
लामिछानेले गृहमन्त्रालय सम्हालेपछि पुनः निर्मला प्रकरणमा अनुसन्धान सुरु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अनुसन्धान टोली प्रमुख सिंहसहित केही अधिकारी महेन्द्रनगर पुगिसकेका छन् । टोलीका केही सदस्य छिट्टै घटनास्थलतर्फ जाने तयारीमा छन् ।











