Kathmandu Press

‘नभागोस् भनेर डोरिले बाँधिएको हो, घिसारिएको होइन’

हामी पनि मानव हौं, हामीमाथि पनि भावना हुन्छ । यो घटनाको वास्तविकता नबुझी धर्मसँग जोडेर स्थानीय स्तरमा द्वन्द्व भड्काउन खोजियो : नगरप्रमुख खान
‘नभागोस् भनेर डोरिले बाँधिएको हो, घिसारिएको होइन’
Hardik ivfHardik ivf

काठमाडौं, पुस २१ : बुधबारदेखि सामाजिक सञ्जालमा एक तस्बिरबारे व्यापक टिकाटिप्पणी भए । तस्बिरमा थियो, छाडा साँढेलाई ट्रकमा बाँधेर घिसारिएको दृश्य । घटना रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको हो । 

नगरप्रहरीको लु १ ग ३६२ नम्बरको ट्रकको पछाडी डोरी बाँधी सोही डोरीले साँढेलाई बाँधेर घिसारिएको जस्तो तस्बिरमा देखिन्छ । सडक नै रक्ताम्य भएको जस्तो पनि तस्बिरमा देखिन्छ । तस्बिर सार्वजनिक भएपछि नगरप्रमुख ईस्तियाक अहमद खानमाथि चर्को आलोचना सुरु भइसकेको छ । 

नगरपालिकाले छाडा पशु व्यवस्थापनको नाममा जिउँदो पशुमाथि अमानवीय हर्कत गरेको आरोप लगाउँदै नगरपालिकाका विभिन्न राजनीतिक दल र तिनका नेताकार्यकर्ताहरुले नगरप्रमुख खानविरुद्ध नाराबाजी समेत गरेका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले जिउँदो साँढेलाई रक्ताम्य हुने गरी ट्रकमा बाँधेर घिसार्ने कर्मचारीमाथि कारबाही गर्न माग गर्दै नगरप्रमुखलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको छ।  

यस तस्बिरबारे नगरपालिकाको भने फरक दाबी छ । तस्बिरको वास्तविकता नबुझी नगरपालिकामाथि आरोप प्रत्यारोपमा उत्रिएको नगरप्रमुख खान बताउँछन् । उसो भए वास्तविकता के हो त ? उनी भन्छन्,‘साँढेलाई घिसार्नका लागि ट्रकमा बाँधिएको होइन, नभागोस् भनेर बाँधिएको हो।’

नगरप्रमुख खानका अनुसार, नगरपालिकाभित्र छाडा छाडिएका पशुचौपायको व्यवस्थापनका लागि होल्डिङ सेन्टर बनाइएको छ । नगरवासीको व्यापक गुनासो पछि नै नगरपालिकाले छाडा पशु चौपायको व्यवस्थापनका लागि होल्डिङ सेन्टर बनाएको हो ।नगरपालिकाले छाडा छाडिएको गाई, गोरुलाई बर्दघाटस्थित गाई संरक्षण केन्द्रमा पुर्याउँदै आएको छ । 

तस्बिरमा देखिएको साँढे केहीदिन देखि नगरपालिकाकै कम्पाउन्डमा बस्दै आइरहेको नगरपालिकाका सूचना अधिकारी देव प्रसाद ज्ञवाली बताउँछन् । सुरुमा त्यसलाई ट्रकमा लोड गरेर होल्डिङ सेन्टरसम्म लैजान खोजिएको भएपनि ज्यादै बलियो भएको कारण नियन्त्रणमा लिएर ट्रकमा लोड गर्न नसकिएको उनको भनाई छ । उनका अनुसार, केही प्रयास गर्नेक्रममा साँढे थचक्कै सडकमा बसेको थियो । बसेपछि फेरि उठेर नभागोस् भन्नका लागि साँढेलाई ट्रकको पछाडिको भागमा बाँधेर राखिएको उनले बताए।

‘नभागोस् भनेर डोरिले बाँधिएको हो, घिसारिएको होइन । होल्डिङ सेन्टरमा लैजान खोज्दा साँढे बस्यो । पानी छ्यापेर उठाउन खोजियो । छ्यापिएको पानी सडकभरी भयो । गाडीको ब्रेकलाइटको रातो प्रकाश पानीमा पर्दा रगतजस्तो देखिएको हो, वास्तवमा त्यो रगत होइन,’ उनले भने । 

No description available.

साँढेलाई नियन्त्रणमा लिन खोज्दा चार पाँच जना सामान्य घाइते समेत भएको नगरपालिकाले बताएको छ । तर, बुझ्दै नबुझी सामाजिक सञ्जालमा आएको तस्बिरकै भरमा आफूमाथि नकारात्मक धारणा बनाइएको नगरप्रमुख खान बताउँछन् । ‘होल्डिङ सेन्टरमा लैजान खोजिएको तर हिँड्दाहिँड्दै बस्यो । गाडीमा लोड गर्न पनि नसकिने अवस्था भयो । बाहिर नभागोस भनेर बाँधिएको हो । साँढेलाई नियन्त्रणमा लिन खोज्दा पाँच जनालाई फालिदियो,’ उनले भने । 

‘हामी पनि मानव हौं, हामीमाथि पनि भावना हुन्छ । यो घटनाको वास्तविकता नबुझी धर्मसँग जोडेर स्थानीय स्तरमा द्वन्द्व भड्काउन खोजियो ।  ८० प्रतिशत हिन्दु भएको समाजको बीचमा बसेको छु । म उहाँहरुको मान्यता र संस्कृतीको सम्मान गर्ने मान्छे हुँ,’ नगरप्रमुख खान भन्छन् । 

उनले कर्मचारीले गल्ती गरे सस्पेन्ड गरेर कारबाही गर्न पनि तयार रहेको बताए। ‘हामी पापी हो ? मेयरले घिसार्नुस् भनेर भनेको छैन, ३० सालदेखि कसैले नगरेको काम गर्न सफल भएको छु । बाइचान्स केही गल्तीपनि भयो भने माफी पनि दिनुप¥यो,’ उनले भने । 

प्रकाशित मिति: १२:०९ बजे, बिहीबार, पुस २१, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्