‘सत्ता गठबन्धनको आयु छोटिन सक्ने प्रशस्त सम्भावना देखिराखेका छौं’
हिजो नो नट अगेन जस्ता नारा लिएर आएका नयाँ पार्टी पनि आज पद प्राप्तिको प्रतिस्पर्धामा लागेको छ : प्रवक्ता महत
काठमाडौं, पुस २० : नेपाली कांग्रेसले सत्ता गठबन्धन लामो समयसम्म टिक्ने सम्भावना नरहेको दाबी गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाशशरण महतले वर्तमान गठबन्धन अवसर केन्द्रीत मात्रै रहेकाले यसको आयु छोटो रहेको बताएका हुन् ।
उनले वर्तमान सत्ता गठबन्धनमा एकीकृत विचार र दृष्टिकोण नभएको पनि बताए । ‘राजतन्त्र चाहिनेदेखि राजतन्त्र कुनैपनि हालतमा हुन्न गणतन्त्रकै बाटोमा जानुपर्छ भन्नेसम्म, संघीयता चाहिन्छ चाहिन्छ र चाहिँदै चाहिँदैन भन्नेदेखि विभिन्न प्रकृति र दिशातर्फ उन्मुख विभिन्न रुपरंगका पार्टी एक ठाउँमा शुद्ध पदीय चाहनाबाट उन्मुख भएर यो गठबन्धन बनेको छ,’ प्रवक्ता महतले भने ।
उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत पद प्राप्तिमा प्रतिस्पर्धा गरेको आरोप लगाए। उनले भने, ‘धेरै ठूलो युवाहरुलाई विश्वास र आकांक्षा जगाएर निर्माण भएको नयाँ पार्टी समेत, हिँजो नो, नट अगेन जस्ता नारा लिएर आउनुभएको थियो । अहिले उहाँहरुको प्रतिस्पर्धा कुन पद प्राप्त हुन्छ भन्नेमा मात्र सिमित रहेको देखिन्छ । र सरकारमै बसेर प्रतिपक्षको भूमिका निर्वाह गर्नेदेखि लिएर कन्टेन्टभन्दा प्रिजेन्टेसनमा ज्यादा देखाउनेकुरामा ज्यादा केन्द्रीय रहेको हामीले देखिराखेका छौं।’
यी सबै कुराहरुको विश्लेषण गर्दा वर्तमान गठबन्धनको आयु छोटिन सक्ने सम्भावना रहेको महतले बताए । ‘तथापि, जुन बेलासम्म नेपाली कांग्रेस विपक्षमा रहन्छ त्यो बेलासम्म हामी सशक्त विपक्षीको भूमिका निर्वाह गर्छौँ। संसदमा जनसरोकारका विषय, देशको सुरक्षा र राष्ट्रिय अखण्डताको विषय, जनताको जनसरोकारका विषय राष्ट्रिय स्वार्थ र सुशासन, विकास र रोजगारीका विषयलाई सशक्त ढंगले उठाउँछै र संगसंगै नेपाली कांग्रेसको संगठन विस्तार, कांग्रेसभित्रको एकतामा केन्द्रीय रहन्छौ,’ उनले भने ।











