Kathmandu Press

८ वर्षमा ७१ हजार मानिस बेपत्ता, २६ हजार भेटिए, ४५ हजार कहाँ गए? 

हराउनेमा महिला र बालिकाको संख्या बढी
८ वर्षमा ७१ हजार मानिस बेपत्ता, २६ हजार भेटिए, ४५ हजार कहाँ गए? 

काठमाडौं पुस २० : तनहुँको व्यास नगरपालिका–१ रतौलीका १४ वर्षीय प्रेम नेपाली २०७९ पुस ४ गतेदेखि बेपत्ता छन्। बुबा बिहान ४ बजे उठ्दासम्म प्रेम सुतिरहेका थिए। तर ६ बज्दा उनी ओछ्यानमा भेटिएनन्।

दाजु राजु नेपालीका अनुसार प्रेम आफ्ना पुस्तक खाटमुनि कपडाले छोपेर साइकल बोकी घरबाट निस्किएका थिए। उनी हराएको तीन साता पुग्न लागिसक्यो। सम्भावना भएका सबै ठाउँमा खोजी गरिसक्दा पनि उनी नभेटिएका छैनन्। राजुले जिल्ला प्रहरी, नगर तथा अन्य सम्बन्धित निकायमा बेपत्ता प्रेमको खोजीका लागि उजुरी दिएका छन्। ‘प्रहरीले खोजीकार्य भइरहेको छ, नआत्तिनू भेटिन्छ भनेका छन्,’ उनले भने, ‘हामीले पनि आफन्तलाई भनेका छौं, सामाजिक  सञ्जालबाट सूचना प्रवाह गरिरहेको छौं।’ 

त्यसैगरी इलामको इलाम नगरपालिका–९ की प्रेमकुमारी ८ वर्षीय छोरी श्रेष्यालाई साथमा लिएर पति (सन्तोष पन्त) लाई भेट्न २०७९ पुस ९ गते घरबाट निस्किन्। सन्तोष रोजगारीको सिलसिलामा सिक्कममा बस्छन्। छिमेकीका अनुसार उनी पति भेट्न जाने भन्दै उनी हिँडेकी हुन्। तर घरबाट हिँडेको दुई साता बित्न लाग्दा उनी न सिक्किममा पतिकहा पुगेकी छन्, न त कसैको सम्पर्कमा आएकी छन्।

Hardik ivf

चार–पाँच दिनसम्म अनलाइनमा नआएपछि र फोन सम्पर्क पनि नगरेपछि सन्तोषले छिमेकीसँग सोधखोज गरे। छिमेकीले पति भेट्न जाने भन्दै निस्किएको बताए। पत्नी बेपत्ता भएपछि उनी गत शुक्रबार (पुस १५ गते) इलाम आइपुगेका छन्। ‘पुस १६ गते कार्यालय बन्द हुने भएकाले आइतबार पुस १७ गते प्रहरी कार्यालयमा उजुरी दिने तयारीमा छु,’ पुस १६ गते काठमाडौं प्रेससँगको सम्पर्कमा सन्तोषले भने।   

उनले हराएकी पत्नी भेटिने आशामा सामाजिक सञ्जालमा प्रचारप्रसार सामग्री राखेका छन्। आफन्तजन पनि खोजीकार्यमा जुटिरहेका छन्। ‘नौ दिन भइसक्यो, कहिलेसम्म केही अत्तोपत्तो छैन,’ उनले भने, ‘अहिलेसम्म कतैबाट केही खबर पाउन सकिएको छैन।’ 

यी दुई प्रतिनिधि उदाहरण मात्र हुन्। देशभरि विभिन्न ठाउँमा मानिस हराउने घटना दिनहुँ भइरहन्छन्। सामाजिक सञ्जाल, टेलिभिजन, रेडियोमा बालबलिका, महिला, पुरुष, ज्येष्ठ नागरिक हराएको सूचना दिनहुँजसो आइरहन्छन्।

प्रहरी प्रधान कार्यालयमा रहेको बेपत्तासम्बन्धी आँकडा हेर्दा आङै जिरिङ्ङ पारिदिन्छ। तथ्यांकअनुसार हराएका मध्ये लगभग आधाजति भेटिँदै भेटिन्नन्। ७१ हजारजना हराएकोमा २५ हजार भेटिँदा ४५ हजार कहाँ छन् भन्ने कुनै अत्तोपत्तो नै छैन। 

हराउनेमा महिला र बालिकाको संख्या बढी छ । तर पछिल्लो एक वर्षको अन्तरालमा बालबालिकाका हकमा हराएकामध्ये ८२ प्रतिशत भेटिने गरेको राष्ट्रिय बाल अधिकार परिषदको तथ्यांकले देखाएको छ। 

१७ वर्षमा ३८ हजार बालबालिका हराए, बालिका मात्र ७० प्रतिशत 

पहिलेपहिले हराएका बालबालिकामध्ये ६० प्रतिशतभन्दा कम फेला पर्थे। गत वर्ष भने हराएको ८२ प्रतिशत भेटिएका छन्। पछिल्लो समय हराएका बालबालिकाको खोजीकार्यका लागि नयाँनयाँ प्रयास भइरहेकाले भेटिनेको संख्या बढ्दै गएको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्द बताउँछन्।

‘अहिले बालबालिका हराउनासाथ १०४ मा प्रहरीलाई फोन गरेर जानकारी गराइन्छ। जानकारी पाउनासाथ प्रहरी खोजतलासमा सक्रिय रूपमा लाग्छ,’ उनले भने, ‘बालबालिकाको वर्ण, हुलिया, लुगाअनुसार खोजीकार्य सुरु भइहाल्छ।’

बाल अधिकार परिषद् सञ्चालनमा आएको १६/१७ वर्ष भयो। यस अवधिमा अनुमानित ३८ हजार बालबालिका हराएका छन्। तीमध्ये ३० हजारको हाराहारीमा फेला परेको तथ्यांक उक्त परिषद्सँग छ। ७/८ हजार बालबालिकाको भने खोजीकार्य जारी  रहेको सूचना अधिकारी चन्द बताउँछन्। ‘हराउनेमा ७० प्रतिशत बालिका र ३० प्रतिशत बालक हुन्छन्,’ उनले भने, ‘बालश्रम, मानव तस्करी, अपहरण गरेर रकम माग्ने, आपसी झगडाले गर्दा बालबालिका हराएको पाइन्छ।’ उनका अनुसार हराउने बालबालिकामा १३ देखि १७ वर्षको उमेर समूहका धेरै हुन्छन्। 

उनीहरुको खोजतलासका लागि निःशुल्क फोन नम्बर उपलब्ध गराइएको छ। त्यसमा फोन गरेर उजुरी दिनसाथ खोजीकार्य सक्रिय बनाउने गरिएको उनको भनाइ छ। ‘जहाँबाट हराएका छन्। त्यहाँको स्थानीय तहलाई बढी सक्रिय बनाइन्छ। सञ्चारमाध्यमलाई पनि त्यतिकै प्रयोग गरिन्छ,’ उनले भने, ‘योजनाबद्ध रूपमा हराएका बालबालिका भने लामो समयपछि मात्र भेटिने गर्छन्। धेरै बालबालिका छोटो समयमै फेला पर्छन्।’ 

७१ हजार हराएकामा ४५ हजार कहाँ गए ? 

२०७२ सालयता हाल (२०७९ मंसिर मसान्त) सम्म देशभर ७१ हजार २२६ जना हराएका छन्। तीमध्ये २५ हजार ९५३ जना फेला परेका छन्। नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार ४५ हजार २७३ जना भने बेपत्ता नै छन्। 

प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरिक्षक टेकप्रसाद राईका अनुसार पछिल्लो समय हराउने संख्या वृद्धि हुँदै गए पनि भेटिनेको संख्या पनि बढ्दै गइरहेको छ। ‘हराएका ९० प्रतिशत भेटिन्छन् तर भेटिएपछि प्रहरीमा खबर गर्दैनन्,’ उनले भने, ‘त्यसैले बेपत्ता भएको संख्या बढी देखिएको हो।’

मानिस हराउँदा दैनिकजसो प्रहरी कार्यालय धाउँछन् तर भेटिएपछि खबर गर्न भने आउँदैनन्। चालु आर्थिक वर्ष २०७९/८० देखि हराएको मान्छे भेटिएपछि खबर गर्न कार्यालय आउनुपर्ने नियम लागु गरिएको छ।

‘नभेटिएकाले बेपत्ता हुनेको संख्या धेरै भएको होइन, भेटिएपछि खबर नपाइने भएकाले त्यस्तो भएको हो,’ उनले भने, ‘प्रहरीले भेट्टाएको संख्या मात्र थाहा हुन्छ, सञ्चारमाध्यम, आफन्तले भेट्टाएको जानकारी नै हुँदैन।’ प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार ८ वर्षमा देशभर हराएकाको तथ्यांकमा भेटिएकोभन्दा बेपत्ता भएको धेरै देखिन्छ। 

कुन आर्थिक वर्षमा कति हराए, कति भेटिए?

२०७२ सालयता हाल (२०७९ मंसिर मसान्त) सम्म देशभर ७१ हजार २२६ जना हराएका छन्। जसमा महिला र बालिकाको संख्या बढी रहेको देखिन्छ।

प्रहरी प्रवक्ता राईका अनुसार आर्थिक वर्ष (आव) २०७२/७३ मा ५ हजार ९५७ जना (पुरुष १०६७, महिला ३५७५, बालक ५८५, बालिका ७३०) जना हराएका छन्। भने  १ हजार ४४० (पुरुष २७५, महिला ७२५, बालक १९६, बालिका २४४) जना भेटिएका हुन्। तीमध्ये ४ हजार ५१७ जना बेपत्ता छन्।  

आव २०७३/७४ मा ७ हजार २७८ (पुरुष १ हजार १७५, महिला ३ हजार ३३२, बालक १ हजार ४६, बालिका १ हजार ७२५) जना हराएका छन्। तीमध्ये १ हजार ६१३ (पुरुष २७४, महिला ७३९, बालक ३०७, बालिका २९३) जना भेटिएका छन्। भेटिन बाँकीको संख्या ५ हजार ६६५ जना छन्। 

त्यस्तै आव २०७४/७५ मा ८ हजार २७७ (पुरुष १ हजार ६८६, महिला ४ हजार २६१, बालक ९२२, बालिका १ हजार ४०८) जना हराएका थिए। तीमध्ये १ हजार ८१९ (पुरुष ३७२, महिला ८०४, बालक २५८, बालिका ३८४) जना भेटिँदा ६ हजार ४५८ जना अझै बेपत्ता छन्। 

आव २०७५/७६ मा देशभर ११ हजार १५३ (पुरुष २ हजार ४०८, महिला ५ हजार ८५२, बालक ८५७, बालिक २ हजार ३६) जना हराएका थिए। जसमा ३ हजार ३०७ (पुरुष ५८९, महिला १ हजार ५०५, बालक ३४८, बालिका ८६५) जना मात्र भेटिएका हुन्। तीमध्ये ७ हजार ८४६ जना बेपत्ता अवस्थामै छन्। 

आव २०७६/७७ मा ७ हजार ९०१ (पुरुष १ हजार ८६८, महिला ४ हजार ६२, बालक ६६६, बालिका १ हजार २६६, ज्येष्ठ नागरिकमा पुरुष २१ र महिला १८) जना हराएको थिए भने ३ हजार १६५ (पुरुष ६९१, महिला १,४६९, बालक ३२२, बालिका ६६५, ज्येष्ठ नागरिकमा पुरुष ९ र महिला ९) जना मात्र फेला परे। यीबाहेक ४ हजार ७३६ जना भने भेटिएका छैनन्। 

data1672828621.jpg

आव २०७७/७८ मा १० हजार ३१ (पुरुष २ हजार २१५, महिला ५ हजार ३२२, बालक ६४९, बालिका १ हजार ७४७, ज्येष्ठ नागरिक पुरुष ६४ र महिला ३४) जना हराएका थिए। तिनीहरूमध्ये ४ हजार ६६८ (पुरुष ८८२, महिला २ हजार ३४५, बालक ३६२, बालिका १ हजार ८७, ज्येष्ठ नागरिक पुरुष ३१ र महिला २१) मात्र फेला परे। तीबाहेक ५ हजार ३६३ फेला पर्न नसकेको प्रहरीको तथ्यांक छ।

आव २०७८/७९ मा देशभर १४ हजार ९५७ (पुरुष ३ हजार २९७, महिला ७ हजार १४१, बालक १ हजार १३५, बालिका ३ हजार २४९, ज्येष्ठ नागरिक पुरुष ९४ र महिला ४१) जना हराएका छन्। जसमा ६ हजार ६५० (पुरुष १ हजार २२३, महिला २ हजार ९९२, बालक ६५५, बालिका १७११, ज्येष्ठ नागरिक पुरुष ४८ र महिला २१) जना भेटिएका हुन्। ८ हजार ३०७ जना अझै बेपत्ता भएका छन्। 

चालु आर्थिक वर्षको हालसम्म ५ हजार ६७२ (पुरुष ९९४, महिला १ हजार ८१७, बालक ८७३, बालिका १९४७, ज्येष्ठ नागरिक पुरुष २३, महिला ८) जना हराएका छन् भने हालसम्म ३ हजार २९१ (पुरुष ५१४, महिला १ हजार ३६, बालक ५५७, बालिका १ हजार १६९, ज्येष्ठ नागरिक पुरुष १३ र महिला २) जना मात्र फेला परेका छन्। २ हजार ३८१ जना भने हालसम्म फेला पर्न सकेको छैनन्।  

हराएको बारे समयमै खबर भए भेटिने सम्भावना धेरै : प्रवक्ता राई

प्रहरी प्रधान कार्यालयका प्रवक्ता टेकप्रसाद राई मानिस हराएको जानकारी समयमै प्रहरीकहाँ आए छोटो समयै भेटिने बताउँछन्। प्रहरीकहाँ उजुरी दिन विलम्ब गरे बेपात्ता भेटिन समय लाग्ने उनको भनाइ छ।

मानिस कुन तरिकाले बेपत्ता भएको छ भन्नेमा पनि भेटिन कति समय लाग्ने भन्ने कुरा निर्भर हुने उनी बताउँछन् । मानव बेचखिनका लागि लैजाँदै गरेको, बालश्रमका लागि अन्य देश लान खोजिएको अवस्थामा भने थोरै संख्यामा मात्र फेला पर्ने र त्यसका लागि समय पनि लाग्ने उनको भनाइ छ।

‘आजभोलिका मानिस सचेत भएकाले बालबालिका कतै गएको एकडेढ घन्टा मात्र ढिला हुँदा पनि प्रहरीमा उजुरी आइहाल्छ। त्यस्तो गर्नु जरुरी पनि छ,’ उनले भने, ‘कतिपय घरमा खबर नगरी साथीभाइ, आफन्तकोमा पुग्ने गरेको र बुवाआमा अत्तालिने गरेको पाइन्छ।’

अभिभावकहरुको लापरबाही र अविश्वासका कारणले बालबालिका आमाबुबालाई सबै कुरा नभन्ने, अलि टाढाटाढा बस्न रुचाउने गरेको देखिन्छ। अभिभावकहरूले आफ्नो बालबालिकालाई सहज रूपमा व्यवहार गर्नुपर्ने र बालबालिकाले आफ्ना हरेक कुरा बुवाआमालाई भन्न सक्ने वातावरण बनाउनुपर्ने सुझाव उनी दिन्छन् ।

‘आफ्ना सन्तानसँग अभिभावकले कठोर व्यवहार नगरी सहयात्रीजस्तो बनिदिनुपर्छ, ताकि उनीहरुले आफ्ना गल्तीकमजोरी लुकाउनु नपरोस्,’ प्रवक्ता राईले भने, ‘अभिभावक आफ्ना बालबालिकाप्रति संवेनदशील भए हराउने, बेपत्ता हुने र भाग्ने सम्भावना कम हुन सक्छ।’
 

प्रकाशित मिति: १६:५२ बजे, बुधबार, पुस २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्