कांग्रसले भन्यो– प्रचण्डलाई नेतृत्व दिनेबारेमा छलफल गर्ने समय पाएनौं, गठबन्धन फुट्नुमा हामी दोषी छैनौं
'निर्वाचनबाट प्राप्त मतलाई सरकारको तहमा निरन्तरता दिएर लामो समयसम्म जाने जुन प्रतिबद्धता थियो, त्यो प्रतिबद्धताबाट हामी हटेका हैनौं । प्रचण्डजी हट्नुभयो.’
काठमाडौं, पुस २० : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले निर्वाचनअघि बनेको सत्ता गठबन्धन फुट्नुमा आफ्नो पार्टी दोषी नरहेको बताएका छन् ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले गठबन्धनलाई निरन्तरता दिने विषयमा कांग्रेसले निरन्तर कोशिस गर्दै आएको बताए। चुनावपछि प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलका रुपमा स्थापित भएपनि कांग्रेसले गठबन्धनको विकल्प खोजेर वैकल्पिक समर्थन जुटाएर नेतृत्व लिने विषय कांग्रेसको प्राथमिकतामा नभएको बताए ।
उनले कांग्रेससँगै माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत अन्य दलका नेतृत्व पनि गठबन्धन अगाडि बढ्छ भन्ने मान्यतामा कायम रहँदै नेतृत्वबाट संविधानको रक्षा, राजनीतिक स्थिरता र समृद्धिका लागि काम गर्ने प्रतिबद्धता आएको स्मरण गरे ।
महतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनप्रति प्रतिबद्ध रहेको अभिव्यक्ति दिँदै आएपनि अन्तिममा गठबन्धन फुटाएको आरोप लगाए। ‘यो अवस्थामा गठबन्धन फुट्नु र प्रचण्डजी अलग्गीएर जानुमा नेपाली कांग्रेस दोषी छैन,’ उनले भने ।तर, प्रचण्डलाई नेतृत्व गर्न दिनेबारे पार्टीभित्र छलफल गर्ने समय नपाएको पनि प्रवक्ता महतले बताए।
उनले निर्वाचनअघि गठबन्धनले जनतासामु गरेको प्रतिबद्धता प्रचण्डले लत्याएको बताए ।‘निर्वाचनबाट प्राप्त मतलाई सरकारको तहमा निरन्तरता दिएर लामो समयसम्म जाने जुन प्रतिबद्धता थियो, त्यो प्रतिबद्धताबाट हामी हटेका हैनौं । प्रचण्डजी हट्नुभयो,’ उनले भने ।











