सुदूरपश्चिम प्रदेश सरकार गठनको आह्वान, दलहरुलाई सात दिनको समय
प्रदेश प्रमुख जोशीले मुख्यमन्त्रीमा दाबी गर्न दलहरुलाई सात दिनको समय दिएका छन् ।
काठमाडौं, पुस २० : सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकार गठनको आह्वान गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घ राज भट्टले विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख जोशीले सरकार गठनको आह्वान गरेको जानकारी दिए । प्रदेश प्रमुख जोशीले मुख्यमन्त्रीमा दाबी गर्न दलहरुलाई सात दिनको समय दिएका छन् ।
‘संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश सभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई सदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९/०९/२७ गते बुधबार बेलुका ५ः०० भित्र दाबी पेस गर्न आह्वान गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ । यहाँ ठूलो दल नेपाली कंग्रेसको १९, नेकपा माओवादी केन्द्रको ११, नेकपा एमालेको १०, नागरिक उन्मुक्ति पार्टीको ७, नेकपा एकीकृत समाजवादीको ४, राप्रपाको १ र एक जना स्वतन्त्र सांसद छन् ।











