Kathmandu Press

जनप्रतिनिधिको भूमिकालाई प्रभावकारी बनाइनुपर्छ : अध्यक्ष तिमिल्सिना

जनप्रतिनिधिको भूमिकालाई प्रभावकारी बनाइनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं, पुस १९ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनप्रिय तुल्याउन जनप्रतिनिधिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । 

स्पिकर्स फोरम नेपालले आज यहाँ आयोजना गरेको ‘प्रदेशसभाको आगामी कार्यभार र स्पिकर्स फोरमको दायित्व’ अन्तक्रिया कार्यक्रममा उहाँले केही कानुनी जटिलताकाबीच पनि सङ्घ र प्रदेशसभामार्फत् सकारात्मक काम भएको भन्दै त्यसका आधारमा आगामी कार्यलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिए। 

उनले भने, ‘अबका दिनमा परिवर्तनलाई संस्थागत गर्न लोकतान्त्रिक गणतन्त्रलाई जनप्रिय र लोकप्रिय बनाउन जनप्रतिनिधिले व्यवहार बदलेर जनताको पक्षमा काम गर्न जरुरी छ।’ अध्यक्ष तिमिल्सिनाले देशको आर्थिक अवस्थालाई मध्यनजर गर्दै सङ्घ तथा प्रदेशमा मन्त्रिमण्डल सानो आकारको बनाइ आर्थिक मितव्ययिता कायम गरिनुपर्नेमा जोड दिए। मुलुकको संविधानको व्यवस्थाअनुरुप कुनै पनि दलको स्पष्ट बहुमत नआउने अवस्था रहेकाले सत्ता गठबन्धन अपरिहार्य रहेको भन्दै गठबन्धन सरकार बनाउँदा थोरै मन्त्रालय बनाइनुपर्ने धारणा राखे। 

अध्यक्ष तिमिल्सिनाले प्रदेशसभा र संरचना भद्दा र खर्चिलो भयो भनेर आलोचना हुनेगरेको प्रसङ्ग उल्लेख गर्दै कमिकमजोरीलाई सच्याएर बलियो बनाउन आवश्यक रहेको बताए। ‘प्रदेशमा मन्त्रालय धेरै भए काम प्रभावकारी भएन भन्ने आलोचना बढेको छ,’ उन भने, ‘सांसद भएपछि मन्त्री हुनैपर्छ भन्ने प्रवृत्ति रोकिनुपर्छ । अहिलेको आलोचनालाई भविष्यमा सुधार गरेर जानुपर्छ।’

उनले प्रदेशसभालाई प्रभावकारी बनाउन र जनआकाङ्क्षा अनुरुप काम गर्न स्पिकर्स फोरमको महत्वपूर्ण भूमिका हुने भन्दै सातै प्रदेशमा अन्तरक्रिया गरेर प्रदेशसभाको कामलाई प्रभावकारी र परिणाममुखी बनाइनुपर्नेमा जोड दिए।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेशसभालाई अधिकार सम्पन्न बनाइ जनताको पक्षमा प्रभावकारी काम गर्नुपर्ने खाँचो औंल्याए । उनले जनप्रतिनिधि कानुन बनाउने भन्दा पनि विकासका लागि धाउनुपर्ने बाध्यताको अन्त्य गरी सङ्घ र प्रदेशसभालाई कानुनमार्फत् प्रभावकारी थलोका रुपमा विकास गरिनुपर्नेमा जोड दिए। 

‘सङ्घ, प्रदेश र स्थानीय तहको उद्देश्यअनुरुप अधिकार सम्पन्न बनाउन सकिएको छैन । केन्द्रिकृत प्रवृत्ति हाबी भइरहेको छ, त्यसकारण प्रणालीलाई ठीक ढङ्गले चलाउन कठिन भएकै सन्दर्भमा जनचाहना बमोजिम राष्ट्रियसभाको कामलाई प्रभावकारी बनाइनुपर्छ,’ पूर्व सभामुखसमेत रहनुभएका नेता पौडेलले भने। 

कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्तीले जनप्रतिनिधिको थलो संसद्को भूमिकालाई प्रभावकारी बनाएर जनताको हितमा काम गर्न जनप्रतिनिधि केन्द्रित हुनुपर्ने बताए। उनले आवश्यक ऐन, कानुन बनाउन ढिलो भएका कारण प्रदेशसभा प्रभावकारी बन्न नसकेको उल्लेख गर्दै प्रदेशसभाको अनुभवलाई जीवन्त आगामी भूमिकालाई अझ प्रभावकारी बनाइनुपर्नेमा जोड दिए। 

राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थान तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्माले राष्ट्रिय राजनीतिलाई दिगो बनाउन र परिवर्तित व्यवस्थालाई स्थापित गर्न फोरमले भूमिका खेल्ने विश्वास व्यक्त गरे।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले संसदीय प्रणालीलाई बलियो र प्रभावकारी बनाउन जनप्रतिनिधि जिम्मेवारपूर्वक ढङ्गले लाग्नुपर्नेमा जोड दिए।
 
राष्ट्रियसभाका पूर्व उपाध्यक्ष शशिकला दाहालले सङ्घ र प्रदेशको प्रभावकारी समन्वयमा सुशासन र समृद्धिका लागि काम गर्नुपर्नेमा जोड दिए। कर्णाली प्रदेशका निवर्तमान सभामुख एवं स्पिकर्स फोरमका संयोजक राजबहादुर शाहीले लामो बलिदानिपूर्ण सङ्घर्षबाट अहिलेको व्यवस्था आएको भन्दै सङ्घ र प्रदेशबीचको सम्बन्ध स्थापित गर्न फोरमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। 
    
सङ्घ र प्रदेश सरकारबीच पुलको भूमिका निर्बाह गरी जनप्रतिनिधिको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले सातै प्रदेशसभाका निवर्तमान सभामुख र उपसभामुखहरुको साझा फोरमको रुपमा स्पिकर्स फोरम स्थापना गरिएको हो। 

प्रकाशित मिति: १७:३२ बजे, मंगलबार, पुस १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्