सरकारबारे एकीकृत समाजवादी अझै अनिर्णित, वामपन्थी एकताको पहल गर्ने जिम्मा सचिवालयलाई
बैठकले सरकारमा सहभागी हुने नहुने बारे अझै अध्ययन गर्न आवश्यक भएको निष्कर्ष निकाल्दै यसबारे थप अध्ययन गर्न पार्टीको केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
काठमाडौं, पुस १९ : नेकपा (एकीकृत समाजवादी) पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जाने/नजानेबारे अझै अनिर्णत भएको छ । सोमबार र मंगलबार गरी दुईदिन पोलिटब्युरो बैठक बसेपनि सरकारमा सहभागी हुने कि नहुने भन्ने बारेमा अझै अनिर्णित भएको हो ।
आजको बैठकले सरकारमा सहभागी हुने नहुने बारे अझै अध्ययन गर्न आवश्यक भएको निष्कर्ष निकाल्दै यसबारे थप अध्ययन गर्न पार्टीको केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
सो पार्टीले वामपन्थी एकताको आवश्यता औंल्याउँदै यसबारेमा पार्टीले पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ । वामपन्थी धारमा रहेको सबै दलहरुलाई एकतामा ल्याउन आवश्यक गर्न पनि पार्टीको केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको छ । ‘केन्द्रीय सचिवालयलाई यस विषयमा गृहकार्य गर्नका लागि अनुमति प्रदान गरेको छ । यस कामलाई केन्द्रीय सचिवालयले समन्वय गर्दै छ,’ प्रवक्ता खतिवडाले भने ।
आजको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको बारेमा सञ्चारमाध्यमहरुमा अनावश्यक टिकाटिप्पणी नगर्न नेताहरुलाई निर्देशन पनि दिए । उनले पार्टी र नेतृत्वबारे बदख्वाईँ नगर्न चेतावनी दिँदै सबै नेता कार्यकर्तालाई पार्टीको अनुशासनमा बस्न आग्रह गरे ।











