Kathmandu Press

सेवाग्राहीले लामो लाइन बस्नुपर्ने अवस्था एक महिनाभित्र सुधार गर्न प्रधानमन्त्रीको निर्देशन 

एक महिनाभित्र सुधार नभए जिम्मेवार पदाधिकारीलाई कारबाही गर्ने चेतावनी 
सेवाग्राहीले लामो लाइन बस्नुपर्ने अवस्था एक महिनाभित्र सुधार गर्न प्रधानमन्त्रीको निर्देशन 

काठमाडौं, पुस १९ :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी सेवा लिन आउने सेवाग्राहीलाई लामो लाइनमा बस्नुपर्ने बाध्यताको समाधान गर्न जिम्मेवार निकायका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा सरकारका मुख्यसचिव र सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले बिहान २ बजेदेखि लाइनमा बस्नुपर्ने वाध्यताको समाधान १ महिनाभित्र गर्न निर्देशन दिएका हुन् । 

राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स, नो अब्जेक्सन सर्टिफिकेट, सरकारी अस्पतालमा विरामीको उपचार ,मालपोत, कर कार्यालय आदी विभिन्न स्थानमा सर्वसाधारणले पाउने सास्तीको समाधान गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । उनले लाइन बस्नुपर्ने समस्याको समाधान एक महिनाभित्र नभएको पाइए जिम्मेवार पदाधिकारीलाई कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

उनले कतिपय दस्तुर बुझाउने लाइन स्थानीय तहमा र सवारी लाइसेन्सको लाइन प्रदेश तहमा भएको भनेर संघीय सरकारका सचिवहरु पन्छिन नपाउने पनि बताए । ‘तीनै तहमा तपाईँहरुले खटाएका कर्मचारीले काम गरिरहेका छन् । र उनीहरूको कार्यसम्पादनमा मूल्यांकन गर्ने अधिकार तपाइहरूले लिएर बस्नुभएकै छ । त्यसैले त्यहाँका जनताका दुख र कठिनाइसँग तल्ला तहका सरकारको काम हो भनेर तपाईँ हामी पन्छिन मिल्दैन,’ उनले भने । 

‘राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स, शिक्षा मन्त्रालयबाट प्रदान गरिने “नो अब्जेक्सन सर्टिफिकेट”, सरकारी अस्पतालमा विरामको उपचार, मालपोत, नापी, कर दस्तुर बुझाउने ठाउँमा सेवाग्राहीले अहिले जस्तै लाइनमा बस्ने सास्ती देखियो भने निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने अवस्थामा आउनेछ’, प्रचण्डले भने ।
 

प्रकाशित मिति: १५:०५ बजे, मंगलबार, पुस १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्