लुम्बिनी प्रदेशसभा नियमावली-२०७९ पारित
ज्येष्ठ सदस्य डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेशसभा नियमावली, २०७९’ पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सदनले पारित गरेको हो।
दाङ, पुस १८ : प्रदेशसभाको पहिलो बैठकले लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ पारित गरेको छ ।
ज्येष्ठ सदस्य डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेशसभा नियमावली, २०७९’ पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सदनले पारित गरेको हो।
नियमावली पारित भएसँगै अब यही नियमावलीका आधारमा प्रदेशसभाले आफ्ना गतिविधि अघि बढाउनेछ। यसअघि प्रदेश नं ५ नियमावली, २०७४ थियो । तर त्यो नियमावली ५० प्रतिशतभन्दा बढी संशोधन गर्नुपर्ने भएपछि नयाँ नियमावली बनाइएको हो।
लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशनको तेस्रो बैठक माघ ३ गते बस्ने भएको छ। पहिलो अधिवेशनको दोस्रो बैठक सकिएपछि अध्यक्षता ग्रहण गरेका ज्येष्ठ सदस्य डिल्लीराज भुसालले तेस्रो बैठकको मिति माघ ३ गते तोकेका हुन् ।
अब सभामुख र उपसभामुख चयनका लागि प्रदेशसभामा बाटो खुलेको छ। पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानूनी व्यवस्था छ।
सोही अनुसार राजनीतिक दलबीच सहमतिको प्रयास गरिने र सम्भवतः आगामी बैठकले सभामुख चयन गर्ने प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।











