बागमती प्रदेशसभाको पहिलो बैठक : सार्वभौमसत्ता र राष्ट्रियताको संवर्द्धनमा सबै दल एक हुनुपर्नेमा जाेड
बागमती प्रदेशसभाको सोमबार बसेको पहिलो बैठकमा विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूले राष्ट्रिय सरोकारको विषयमा सेवा भावले काम गर्नुपर्ने बताएका छन्।
हेटौंडा, पुस १८ : बागमती प्रदेशसभाको सोमबार बसेको पहिलो बैठकमा विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूले राष्ट्रिय सरोकारको विषयमा सेवा भावले काम गर्नुपर्ने बताएका छन्।
बैठकको सुरुमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले कांग्रेस देशको सार्वभौमसत्ता र राष्ट्रियताको दीगो संरक्षणको लागि सधैँ मन, वचन र कर्मले प्रतिबद्ध रहेको उल्लेख गरे । उनले जनप्रतिनिधिले जनताको लागि नै सेवाभाव र उत्तरदायित्व बोध गर्न सके प्रदेशमा पनि सुशासन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
यस्तै, नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेशमा विकासको पूर्वाधारलाई अगाडि बढाउन संघीय सरकारले प्रदेश सरकारलाई समन्वयात्मक भूमिकामा सहयोग प्रदान गर्नुपर्ने खाँचो औंल्याए।
बैठकमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले बागमती प्रदेशको हिमाल, पहाड र भित्रि मधेसमा विकासको पूर्वाधारलाई गतिशील प्रदान गर्न राजनीतिक दलमा इमान्दारी आवश्यकरहेको बताए।
बैठकमा राप्रपाका संसदीय दलका नेता उद्धव थापाले राप्रपाको पहिचान, नीति र सिद्धान्त फरक भए पनि देशको राष्ट्रियता र सार्वभौमसत्तालाई जीवन्त राख्न सबै राजनीतिक दलबीच आपसमा समन्वय गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।
यस्तै, नेकपा एकीकृत समाजवादीका नेता कृष्णप्रसाद शर्मा खनालले प्रदेश सरकारले निजामति कर्मचारको मनोबल उच्च पार्न निजामति ऐनलाई अब नयाँ सोच र चिन्तनसहित प्रदेशसभाले पारित गर्नेतर्फ सोच्नु पर्ने बताए।
बैठकमा ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले प्रस्तुत गर्नुभएको प्रदेशसभा नियमावली, २०७४ लाई संशोधन गर्न बनेको मस्यौदा सर्वसम्मतिबाट पारित भएको थियो । प्रदेशसभाको अर्को बैठक पुस २९ गते दिनको ११ बजे बस्नेछ ।











