तत्काल सरकारमा जाने कुनै तयारी छैन : नेकपा एस
सोमबारबाट काठमाडौंमा सुरु समाजवादीको पोलिट्व्युरो बैठकले सरकारमा सहभागी हुन कुनै औपचारिक प्रस्ताव नआएको र सरकारमा जाने कुनै तयारी नरहेको स्पष्ट पारेको हो।
काठमाडाैं, पुस १८ : नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले तत्काल सरकारमा जाने कुनै तयारी नभएको स्पष्ट पारेको छ।
सोमबारबाट काठमाडौंमा सुरु समाजवादीको पोलिट्व्युरो बैठकले सरकारमा सहभागी हुन कुनै औपचारिक प्रस्ताव नआएको र सरकारमा जाने कुनै तयारी नरहेको स्पष्ट पारेको हो।
बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले अहिले सरकारमा जाने वा नजाने भन्दा पनि सरकारलाई हेर्ने दृष्टिकोणका बिषयमा छलफल भएको बताए।
सरकारमा सहभागी हुनका लागि कतैबाट पनि औपचारिक प्रस्ताव अनाएको अवस्थामा सरकारमा सहभागीको प्रश्न नै नउठ्ने उनको भनाइ छ।
बैठकमा समसामयिक राजनीति, नयाँ सरकार, संगठन निर्माणबारे २० जना सदस्यहरुले धारणा राखेको र मंगलबार पनि बैठक बस्ने प्रवक्ता खतिवडाले जानकारी दिए।
खतिवडाले लामो समय सहकार्य गरेको प्रचण्डको नेतृत्वमा सरकार गठन भएको अवस्थामा नीतिगत निर्णय गर्नका लागि बैठक राखेको जिकिर गरे। उनले बिकसित राजनीतिक अवस्थामा पार्टीले परिपक्व ढंगले निर्णय गर्ने बताए।
त्यसअघि पोलिटब्यूरो बैठकको सुरुमै अध्यक्ष माधवकुमार नेपालले देशको हितलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न चाहेको बताएका थिए।
एकीकृत समाजवादीले गत मंसिरमा भएको चुनावमा प्रतिनिधि सभातर्फ १० सिट जितेको थियो तर राष्ट्रिय पार्टी भने बन्न सकेको थिएन।











